जबर्जस्ति नेपाल प्रवेश गर्न खाेज्दा गौरिफन्टा नाकामा तनाव, प्रहरीमाथि ढुंगा प्रहार

कोरोना भाइरसको त्रासपछि भारतबाट नेपाल फर्किएका नेपाली नागरिकलाई प्रहरीले सीमानाकाबाट प्रवेश नदिएपछि धनगढीको गौरीफन्टा नाकामा तनाव भएको छ। हुल बाँधेर सीमा नाकामा आइपुगेका नेपालीलाई प्रहरीले सीमानाका बन्द भइसकेको भन्दै प्रवेश नदिएपछि तनाव उतपन्न भएको हो। 

भारतका विभिन्न ठाउँबाट काम गरेर सोमबार सोमबार साँझ धनगढीसँगै जोडिएको भारतीय नाका गौरीफन्टा र कञ्चनपुरसँग जोडिएको बनवासा गड्डाचौकी नाका आइपुगेका करिब ६०० जनालाई मंगलबार बिहानसम्म पनि प्रवेश अनुमति नदिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्। यस्तै प्रहरीमाथि ढुंगा समेत प्रहार गरेकाे कैलाली प्रहरी कार्यलयका डिएसपी दक्ष कुमार बस्नेतले बताए। बलपूर्वक नेपाल प्रवेश गर्न खोज्दा प्रहरीले लाठीचार्ज समेत गर्नुपरेको एक प्रत्यक्षदर्शीले बताए। 

कोरोनाको सन्त्रासबाट भारतले लकडाउन थालेपछि नेपालीहरु घर फर्किन थालेका हुन्। सयौंको संख्यामा नेपाली नागरिक सीमामा रोकिएका छन्। मंगलबारदेखि नेपालमा समेत लकडाउन भएपछि उनीहरु अलपत्र परेका हुन्। उनीहरुले स्वास्थ्य जाँच गरेर आफूलाई प्रवेश अनुमति दिन माग गरेका छन्।

निकै तनावको अवस्था रहेको सो नाकाबाट उनीहरुलाई हालपनि प्रवेश गर्न दिइएको छैन भने बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको डिएसपी बस्नेतले बताए। उनका अनुसार गड्डाचौकी नाका पारी पनि झण्डै १ हजार नेपाली रहेका कारण कसरी ल्याउने भन्नेबारे छलफल भैरहेको छ।

प्रकाशित मिति: : 2020-03-24 22:45:00

प्रतिकृया दिनुहोस्