अहिलेसम्म ६ सय १० जनाको नमुना परीक्षण, २ मात्रै कोरोना संक्रमित भएको पुष्टि

दीप सुवेदी

काठमाडाै‌ं

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस संक्रमणको आशंकामा ६ सय १० जनाको नमुना परीक्षण गरेकोमा ६ सय ८ जनामा नेगेटिभ देखिएको छ। मंगलबारसम्म गरिएको परीक्षणमा जम्मा २ जनामा मात्र कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

यसअघि माघ ८ मा नेपालमा पहिलो पटक चीनबाट फर्किएका एक नेपालीमा कोरोना भएको पुष्टि भएकाे थियाे। तर उनी उपचारपछि डिस्चार्ज भइसकेका छन्। यता अर्का एक जना १९ वर्षीया किशोरी शुक्रराज सरुवा रोग टेकुमा उपचाररत छिन्। 

मंगलबार ५० जनाको परीक्षण रिर्पोट आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले बताए। उनीहरू कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन। मंगलबार थप ६० जनाको नमुना संकलन भएको उनले बताए। 

‘अहिलेसम्म प्रयोगशालाले ६ सय ६० जनाको नमुना परीक्षण गरेको छ,’ उनले भने,‘त्यसमध्ये ६० जनाको मात्र आउनु बाँकी हो, रिर्पोट बुधबार आउने छ।’

दैनिक ९ सय जनाको परीक्षण गर्न सक्छौंः प्रयोगशाला 

कोरोना भाइरसको शंकास्पद बिरामीको परीक्षण गर्नेको संख्या बढेसँगै प्रयोगशालाले आफ्नो क्षमतासमेत विस्तार गरेको छ। सूचना अधिकारी गुप्ताका अनुसार परीक्षणका लागि प्रयोगशालाले चार वटा ल्याब प्रयोगमा ल्याएको जानकारी दिए। चार वटा ल्याब प्रयोगमा आएसँगै प्रयोगशालाले दैनिक ९ सय जनासम्मको नमुना परीक्षण गर्न सक्ने उनले बताए। 

‘यसअघि हामीले एउटा ल्याबमा मात्र परीक्षण गर्थ्यो। अहिले प्रयोगशालामा रहेको चार वटै ल्याबमा काम सुरु गरेका छौं,’ उनले भने,‘अब हामीले दैनिक ९ सय नमूना परीक्षण गर्न सक्छौं।’

६० वर्षमाथिका र गम्भीर अवस्थाका बिरामीको पनि कोरोना परीक्षण

सरकारले कोरोना भाइरस परीक्षणको दायरा बढाएको छ  यसअघि विदेशबाट आएका तथा उनीहरुको सम्पर्कमा रहेकाहरुको मात्रै कोरोना परीक्षण गर्दै आएकोमा अब ६० वर्षमाथिका वृद्धवृद्धा तथा गम्भीर अवस्थाका अरु बिरामीको पनि कोरोना परीक्षण गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। 

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्र परीक्षण गर्ने व्यवस्था रहे पनि अब तत्कालै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पनि उपकरण थप गरी कोरोनाको जाँच गर्ने तयारी गरिएको जानकारी दिए। 

यस्तै सरकारले अस्पतालहरुलाई नियमित जाँच र शल्यक्रिया दुई हप्तासम्म नगर्न निर्देशन दिएको छ। अस्पतालमा भिड कम गर्नको लागि र सम्भावित संक्रमणलाई ध्यान दिएर तत्कालका लागि नियमित सेवा बन्द गर्न निर्देशन दिएको उनले बताए। 

प्रकाशित मिति: : 2020-03-25 20:29:10

प्रतिकृया दिनुहोस्