चीनका लागि उड्यो वाइडबडी, औषधी र उपकरण लिएर आजै राति नेपाल फर्कने

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने मेडिकल उपकरणहरु लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको ग्वाङझाओ प्रस्थान गरेको छ।

शनिबार दिउँसो १२ बजेर ४० मिनेटमा ए ३३० वाइडबडी जहाज काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गरेको हो। औषधी र अन्य मेडिकल सामग्री बोकेर जहाज आजै राति ११ बजेको हाराहारीमा नेपाल फर्कने छ ।

नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दिपु ज्वार्चनका अनुसार कार्गो उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान अनुमति दिएसँगै विमान ग्वाङझाओ उडेको बताए।

जहाजले कोरोनोको उपचार लक्षित औषधी, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट पीपीई, भेन्टिलेटर लगायतका सामग्री ल्याउने छ। जहाजमा  ४ जना पाइलट, २ जना इन्जिनियर, लोड मास्टर लगायत १० जना मात्रै रहेको उनले बिएल नेपाली सेवालाई जानकारी दिए।

यस्तै नेपाल एयरलाइन्सले चीनमा थप ३ वटा उडान गर्ने भएको छ । एयरलाइन्सले अप्रिल २, ३ र ४ तारिखमा पनि चीन जाने तयारी गरेको छ।  अप्रिल २ तारिखको उडानको लागि ९० प्रतिशत तयारी पूरा भैसकेको अपरेसन विभागका प्रमुख क्याप्टेन जुहार्चनले जानकारी दिए।

यसअघि चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ रहेका नेपालीहरुलाई पनि नेपाल वायु सेवा निगमकै वाइडबडी जहाजले ल्याएको थियो।
 

प्रकाशित मिति: : 2020-03-29 01:29:00

प्रतिकृया दिनुहोस्