स्वास्थ्य मन्त्रालयको दाबी: संसारभर अभावकाे बेला मास्क सामान्य मूल्यमा पाइँदैन

बिएल संवाददाता

काठमाडाै‌ं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारमा चाहिने उपकरण खरिदमा अनियमितता नभएको स्पष्टीकरण दिएको छ। 

मन्त्रालयले एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपेमन्ट (पीपीई) लगायतका उपकरणको पहिलो खेप आइतबार राति काठमाडौं ल्याएको छ। तर एन ९५ लगायतका मास्कको महंगो मूल्यमा किनिएको भन्दै सरकारको आलोचना भएको छ। यद्यपि केही महंगो परेको हुनसक्ने स्वीकार गरेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सामान खरिदमा कुनै अनियमितता नभएको दाबी गरेका छन्।  ‘केही महंगो भएको हुनसक्छ,’उनले भने, ‘संसारभर अभाव रहेको छ, यस्तो बेला सामान्य अवस्थाको मूल्यमा पाइदैन्।’

लकडाउन सुरु भएलगत्तै मन्त्रालयले स्वास्थ्य सामाग्रीका सप्लायर्सहरुसँग छलफल गरेको र उनीहरु मध्ये दुईवटाले मात्र प्रस्ताव हालेको उनले जानकारी दिए। 

‘सिचुवान प्रान्तले दिएको सामानको बीमा पीपीईको मूल्य १३० आरएमबी भनिएको छ। यो भनेको करिव २ हजार रुपैयाँ पर्छ। हामीले १९१९ रुपैयाँमा सम्झौता गरेको गरेका छौं,’स्वास्थ्य सेवा विभागका प्रमुख श्रेष्ठले अघि भने।

 

प्रकाशित मिति: : 2020-03-30 05:53:48

प्रतिकृया दिनुहोस्