राजकुमार ह्यारी र मेगन क्यालिफोर्नियामा, ट्रम्पले भने, 'सुरक्षाको पैसा तिर्नैपर्छ'

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्व बेलायती राजकुमार ह्यारी र राजुकमारी मेगनले अमेरिकामा आफ्नो सुरक्षा खर्च आफै ब्यहोर्नुपर्ने बताएका छन्। 

उनले आफू रानी र बेलायतको महान मित्र र प्रशंसक भएको बताउँदै ट्विटमा अगाडि लेखेका छन्, 'ह्यारी र मेगनले संयुक्त राज्य छोडेर सधैंका लागि क्यानडा बस्ने कुरा सुन्नमा आएको थियो। तर, उनीहरूले अमेरिकाका लागि क्यानडा छोडेका छन्। जे भए पनि अमेरिकाले उनीहरूको सुरक्षाका लागि भुक्तान गर्दैन। तिनीहरूले तिर्नैपर्छ।'

बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगनले शाही उपाधि छोडेर सामान्य जीवन बिताउने निर्णय गर्दै उत्तर अमेरिका र बेलायतमा जीवन बिताउने घोषणा गरेका थिए। उनीहरू सुरूमा उत्तर अमेरिकामा पर्ने क्यानडा गएका थिए भने अहिले उतर अमिरकाका अर्को देश संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियातिर लागेको बताइएको छ। 

गत बुधबारदेखि उनीहरू औपचारिक रूपमा बेलायती राजपरिवारका सदस्य छैनन्। तर, उनीहरूको सुरक्षाको जिम्मा भने बेलायतले नै लिने सहमति भएको थियो । ह्यारी बेलायती राजपरिवारमा जन्मिएको र उनले लामो समयसम्म बेलायती सेनामा सेवा गरेबापत उनलाई सुरक्षा दिनुपर्ने तर्क गरिएको थियो। तर, केही समयअघि प्रकाशित एक जनमत सर्भेक्षणमा सहभागी ९० प्रतिशत बेलायती जनताले ह्यारीको सुरक्षाको व्यवस्था उनैले गर्नुपर्ने मत राखेका थिए।

राजकुमार ह्यारी र उनकी पत्नीले शाही उपाधि छोडेयता करिव तीस लाख डलर सुरक्षामा खर्च भैसकेको बताइएको छ। 

हलिउड अभिनेत्रीसमेत रहेकी मेगन राजकुमार ह्यारीसँग विवाह गर्नु पहिले अमेरिकी नागरिक थिइन्। बेलायती राजकुमारी हुन उनले त्यहाँको नागरिकताका लागि आवेदन दिए पनि अझै त्यसको छिनोफानो भैसकेको छैन। 

मेगनको  केही सम्पति अझै पनि अमेरिकामा रहेको अनुमान गरिएको छ। 

प्रकाशित मिति: : 2020-03-30 03:06:16

प्रतिकृया दिनुहोस्