अबकाे ३० दिनमै अमेरिका काेराेनाबाट मुक्त हुन्छ: राष्ट्रपति ट्रम्प

हामीले १० लाख भन्दा बढीको परीक्षण गरिसक्यौँ, अरु देश यसको नजिक पनि छैनन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देश कोरोना भाइरस महामारीको ३० दिनमै मुक्त हुने दाबी गरेका छन्। 

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका पत्रकारसँग कुरा गर्र्दै उनले अबको ३० दिनभित्र संकटपूर्ण समय आउने तर त्यसमा ठूलो विजय प्राप्त गर्ने दाबी गरेका हुन्। त्यसका लागि सबैले सामाजिक दूरी कायम गर्नु पर्ने उनले बताए।

उनले भने, ‘देशमा म अत्तालिएको अवस्था चाहँदिन। मैले देशलाई तिमीले (सिएनएन पत्रकार) भन्दा राम्रोसँग अत्तालिने बनाउन सक्ने थिएँ।’

१० लाख भन्दा बढी अमेरिकमा कोरोनाको संक्रमण रहे–नरहेको थाहा पाउन परीक्षण गरिएको पनि राष्ट्रपति ट्रम्पले बताए। उनले भने, ‘हामीले १० लाख भन्दा बढीको परीक्षण गरिसक्यौँ, अरु देश यसको नजिक पनि छैनन्।’

उनले कोरोना संक्रमणको उच्चतहमा पुग्न बाँकी नै रहेको तर त्यसबेलासम्म अत्यावश्यक स्वास्थ्य सामग्री पर्याप्त मात्रामा उपलब्ध हुने दाबी पनि गरेका छन्।

देशले कोरोना भाइरस महामारीको अत्याधिक संकटपूर्ण अवस्था सामना गर्नु पर्दा पनि भेन्टिलेटरको संख्या अति उपयुक्त मात्रामा उपलब्ध हुने ट्रम्पले दाबी गरेका हुन्।

अहिले कम्तिमा १० अमेरिकी कम्पनीहरुले भेन्टिलेटरसहितका अत्यावश्यक चिकित्सा सामग्री उत्पादन गरिरहेको छ र यस्ता कम्पनीहरु थपिन सक्ने बताएका छन्।

ह्वाइट हाउसमा भएको कोरोना भाइरस टास्क फोर्सको सोमबारको ब्रिफिङ्गको क्रममा राष्ट्रपति ट्रम्पले भने, ‘अहिले १० कम्पनीले भेन्टिलेटर बनाइरहेका छन्, हामीले त्यसका लागि स्वीकृति दियौँ। वास्तवमा भन्ने हो भने विश्वका अरु कुनै देशले यस्तो गर्न सक्दैनन्।’

यस्तै ट्रम्पले देशका विभिन्न राज्यका गभर्नरले अत्यावश्यक चिकित्सा सामग्री लुकाएको वा अनावश्यक रुपमा सञ्चय गरेर राखेको गम्भीर आरोप पनि लगाएका छन्। अस्पतालबाट चोरी गरेर मास्कसहितका सामग्री गभर्नरले लुकाएको आरोप ट्रम्पले लगाएका हुन्। उनले आफ्नो कुनै पनि आरोपको प्रमाण भने दिएनन्।

कोरोनाका कारण हुने बिरामीमा स्वासप्रस्वासमा गम्भीर समस्या हुन्छ। भाइरसले फोक्सोमा आक्रमण गर्ने भएकाले बिरामीहरुलाई सास फेर्न सजिलो बनाउनका लागि भेन्टिलेटरको आवश्यकता पर्छ।

अमेरिकाका बढी प्रभावित शहरका अस्पतालहरुमा भेन्टिलेटरसहितका चिकित्सा सामग्रीको अभाव हुँदै गएको छ। यस्तै व्यक्तिगत सुरक्षात्मक सामग्री, टेस्ट किट, मास्कसहितको पनि अभाव हुन थालेको छ। अबको दुई हप्तामा अमेरिकामा कोरोना भाइरस संक्रमणको उच्च संकट उत्पन्न हुने विज्ञले बताएका छन्। त्यस बेला आवश्यक परेका जति सबै बिरामीले भेन्टिलेटर पाउँछन् त भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले जवाफ दिँदै भने, ‘मलाई लाग्छ हामी अति राम्रो अवस्था हुने छौँ भेन्टिलेटरसहितका सामग्रीको उपलब्धताका हिसाबले।’

अमेरिकामा कोरोनाका कारण अहिलेसम्म तीन हजार १४८ जनाको मृत्यु भएको छ। यसमध्ये न्यूयोर्कका झण्डै ८०० जना छन्। न्यूयोर्क कोरोनाका कारण सबैभन्दा बढी प्रभावित राज्य हो। अमेरिकामा अहिलेसम्म एक लाख ६३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ।
 

प्रकाशित मिति: : 2020-03-31 08:18:12

प्रतिकृया दिनुहोस्