सरकारले गर्‍याे भ्रमण वर्ष स्थगित, वैशाखदेखि सचिवालय विघटन गरिने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ।

सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिएका छन्।

यसअघि अप्रिलसम्मका लागि मात्र स्थगित भएको थियाे। सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्षका रुपमा घोषणा गरेको थियो।

यसलाई सफल बनाउन व्यवसायी सुरज वैद्यकाे नेतृत्वमा केशरमहलमा सचिवालय बनाइएकाे थियाे। तर, सन् २०१९ को डिसेम्बरबाटै देखा परेको कोरोना भाइरसका कारण यो अभियान नराम्रोसँग प्रभावित बन्यो।

खासगरी चिनियाँ र भारतीय पर्यटकीय स्रोत बजारलाई प्राथमिकता दिएको सरकारले यी दुई मुलुकबाट मात्र ठूलो संख्यामा पर्यटक भित्राउने योजना समेत बनाएको थियो।

भाइरसकाे प्रभावले चर्काे आलाेचना भएपछि भ्रमण वर्षको सचिवालयसमेत १ वैशाख २०७७ बाट विघटन हुने भएको छ।

कति खर्च गरियाे?

सरकारले यस वर्ष ६५ करोड रुपैयाँ बजेट राखेर भ्रमण वर्षको घोषणा गरेको थियो। १ जनवरीमा धुमधामका साथ भ्रमण वर्षको औपचारिक शुभारम्भ भएको थियो।

७ जनवरीमा संसारभरका नेपाली मिसन तथा कूटनीतिक नियोगमा यस अभियानको शुभारम्भ गरिएको थियो। तर, भ्रमण वर्षको चौथो महिना मै सरकारले यो अभियान बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएको हो।

यस वर्ष मुलुकले तेस्रो नेपाल भ्रमण वर्ष मनाइरहेको थियो। यसअघि सन् १९९८ र सन् २०११ मा भ्रमण वर्ष मनाइएको थियो।

तुलनात्मक रुपमा ती दुई भ्रमण वर्षलाई सफल भ्रमण वर्ष मानिन्छ। किनकी भ्रमण वर्ष पछि पर्यटनले व्यवसायिक कोल्टे फेरेको थियो। सोहीकारण यो वर्ष सरकारसामु लक्ष्य पूरा गर्ने चूनौती पनि थियो।

कोरोनाले विश्वव्यापी सन्त्रास फैलिएसँगै सरकारले एक महिना अगाडि अप्रिलसम्मका लागि भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको थियो।  तर, कोरोनाले बिषम् स्थिति खडा गरेपछि अहिले पर्यटककाे आवातजावत बन्द भएको छ। अधिकांश देश लकडाउनमा छन्। एयरलाइन्स कम्पनीका जहाजहरु ग्राउण्डेड भएका छन्।

प्रकाशित मिति: : 2020-03-31 15:37:19

प्रतिकृया दिनुहोस्