अमेरिका कोरोना संक्रमणमा रोल नम्बर १, मृतक संख्यामा रोल नम्बर ३

किन उकालो लागिरहेको छ अमेरिकामा कोरोना ग्राफ ?

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिका कोरोना संक्रमितको संख्यामा त विश्वको रोल नम्बर १ थियो नै मृतकको संख्यामा पनि अब त्यसतर्फ बढिरहेको संकेत मिलेको छ। यो समाचार लेखिरहेको बेला अमेरिका ३,५८० मृतकका साथ मृतक संख्यामा पनि विश्व रोल नम्बर ३ भएको छ। उसको अगाडि अब इटाली र स्पेन मात्र छन्, उसले चीनलाई पनि पछाडि छोडेको छ।

वर्ल्डोमिटर्सका अनुसार इटलीमा १२,४२८ को निधन भैसकेको छ भने स्पेनमा ८,२६९। कोरोना भाइरसको उद्गम देश चीनमा भने ३,३०५ को निधन भएको छ। 

आखिर किन अमेरिका यसरी कोरोना ग्राफमा उकालो चढिरहेको छ ? जसरी अमेरिका विभाजित छ,  यस प्रश्नको उत्तर पनि विभाजित छ। धेरैले राष्ट्रपति ट्रम्पको गलत नीतिका कारण यस्तो भएको हो ठान्छन्। उनीहरू भन्छन्,  'बेलैमा अमेरिका लक डाउन नगर्दाको परिणाम हो यो।'

तर, ट्रम्पका समर्थकहरू अमेरिकी राष्ट्रपति ट्रम्पले जे गरे ठीक गरे भन्ने ठान्छन्। उनीहरू भन्छन्, 'संसारको महाशक्ति राष्ट्र कोरोनासँग डराएर लकडाउन गर्ने कुरै आउँदैन।'

हुन त धेरै राज्य, काउन्टी र सिटीले होम स्टे र पज पनि गरेका छन्। तर, त्यसको खासै प्रभाव देखिएको छैन। उनीहरू पनि भन्छन्, 'यो  महामारीमा सारा अमेरिका नै दुई साता लकडाउन गर्नै पर्छ।' 

हुन पनि हो, अहिलेको लागि लकडाउन नै अप्रिय सत्य हुदै गएको छ। ३० जनामा कोरोना संक्रमित भएपछि लकडाउन गरेको चीनले यो समस्याबाट धेरै हदसम्म पार पाइसकेको छ।

केही मानिस अमेरिकीमा समस्या समाधान गर्ने धैर्यता नै नभएको ठान्छन् । उनीहरूको तर्क छ, नाइन इलेभेनपछि उसको दिमाखमा ओसामा विन लादेन चढ्यो। उसलाई नमारेसम्म अमेरिकाले के के मात्र गरेन ? अब अहिले उसको दिमाखमा कोरोना पसेको छ तर यो कोरोना अदृश्य भएकाले लादेनलाई जसरी मार्न पनि सजिलो छैन।

त्यसो भए अमेरिकाले कसरी पार पाउला त कोरोना भाइरसबाट ? यसको उत्तर सहज छैन । किनकि, यो समस्या आफैंमा अप्ठ्यारो छ र अमेरिकासँग यस्तो समस्याको सहज हल छैन। यसअघिका महामारीमा अमेरिकाले चुकाएकाो मानवीय क्षतिले पनि त्यही बताउँछ। 

प्रकाशित मिति: : 2020-04-01 00:38:36

प्रतिकृया दिनुहोस्