बेलायतमा अर्का एक नेपालीले कोरोनालाई जितेर फर्किए घर  

बेलायतको साउथ इस्ट लन्डनमा कपुरका नामले परिचित युबा रेस्टुरेन्ट ब्यबसायी पद्म राणा कोरोना भाइरसमाथि विजय प्राप्त गरेर घर फर्केका छन्। उनले उच्च मनोबलका साथ चिकित्सकको सल्लाहअनुसार खाएर यो महासंक्रमणबाट बच्न सफल भएको बताए। आफूँ सधैँ हाइजिनमा ध्यान दिने र त्यसैका लागि जाने गरेको जिमबाटै संक्रमण सरेको उनले आशंका व्यक्त गरे। 

सामान्य ज्वरो र निरन्तर खोकी लागेपछि एक सातासम्म औषधी सेवन गर्दा पनि निको हुने छाँटकाँट नदेखिएपछि उनले एम्बुलेन्सलाई घरमै बोलाएका थिए। तर, एम्बुलेन्सका  स्वास्थ्यकर्मीले उनलाई सामान्य चेक जाँच गरी केही एन्टिवायोटिक औषधी दिएर एक दिनमा निगरानीमा राख्ने भन्दै फर्केका थिए। 

एन्टिवायोटिक खाँदा पनि बिमारीमा केही कमी नआएपछि उनले आत्तिँदै दोस्रो दिन पनि एम्बुलेन्सलाई फोन गरेको सम्झिदै भने " सायद मेरो अवस्था जानकारी भैसकेकाले दोस्रोपटक आएका एम्बुलेन्ससहितको स्वास्थ्यकर्मी टोलीले मलाई स्थानीय वूल्विचको क्वीन एलिजावेथ अस्पताल लागे। अस्पतालमा छातीको एक्सरे गरियो, एक्सरे रिपोर्टले निमोनियाको शंका सही सावित भयो र कोभिडको पनि चेक जाँच भयो। त्यसमा पनि पोजेटिभ भेटियो। निमोनिया र कोभिड पोजेटिभ भेटिए पनि म अताल्लिन ।

'मैले सुरूमा बेलायत आउँदा गरेको दु:ख सम्झिए - "बेलायत आएर ठेलामा मोमो बिक्री गर्दै परिवार, बस्ने घर, सवारी साधन र व्यवसाय गरेर यहाँसम्म आइपुगेको छु । यो कोरोनाले मलाई छुन सक्दैन । मैले कहाली लाग्दो रोग कोरोनासँग लड्ने तयारी गरे । कोरोना संक्रमण हुने बित्तिकै मरिहालिन्छ भन्ने भ्रमलाई गलत साबित गर्ने संकल्प लिए। आफन्त तथा सुख दखमा साथ दिने परिवार र जीवन संगीनी सम्झिए। त्यसैबीच मलाई अस्पतालमा एउटा छुट्टै कोठामा राखेर उपचार सुरु भयो।अस्पताल भर्ना भएको एक सातामा मलाई सानो पाइपबाट निरन्तर अक्सिजन दिइयो। गत सात २३ मार्च सोमबार अस्पतालबाट डिस्चार्ज हुनु दुई दिनअघि अक्सिजन झिकेर मेरो स्वास्थ्य अवस्था चेक जाँच गरियो। त्यसमा पनि कुनै समस्या नेदेखिएपछि गत सतादेखि घरमै आराम गरेर होम आईसोलेसनमा बसेको छु।" राणाले दुई साताअघिको घटनाक्रम सम्झिदै बताए।

करिब २० बर्षअघि बेलायत आएका राणा साउथ इस्ट लन्डनको वुल्विचमा ठेलामा मोमो बेच्नुका साथै फ्युजन रेस्टुरेन्ट समेत सञ्चालन गर्छन। यसअघि उनि लामो समयदेखि प्लमस्टेडमा नमस्ते नामक नेपाली रेस्टुरेन्ट चलाउदै आएका थिए ।

कोरोना भाइरस संक्रमणका कारण बेलायतमा अहिलेसम्म तिन जना नेपाली समेत एक हजार चार सय ८ जनाको मृत्यु भैसकेको छ। २२ हजार एक सय ४१ जना कोरोना संक्रमित बेलायतमा उपचारार्थ अस्पतालमा भर्ना गरिएको छ भने एक सय ३५ जना उपचारपछि घर फर्किसकेका छन् । जसमध्धे राणा सहित २ जना नेपालीले सार्बजनिक रुपमा आफु संक्रमित रहेको र घर फर्केर आराम गरिरहेको जनाएका छन् ।

राणा कोरोना संक्रमण बाट बच्न व्यालेन्स डाईटमा ध्यान दिन, तातोपानी, सुप र झोलिलो पदार्थ भएको पोषणयुक्त खाना खान सुझाब दिन्छन। साथै सकेमा तातोपानीको बाफ लिन, अझ सकिन्छ भने दिनमा कम्तिमा २ पटक स्टिम बाथ लिन पनि सुझाउछन्।। घरमै सामान्य ब्यायाम गर्न र अति आवस्यक काममा बाहेक घर बाहिर ननिस्किन सम्पूर्ण नेपाली समुदायमा उनले अनुरोध गरेका छन् ।

यसैबीच बेलायतस्थित नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदीले कोरोनाबाट प्रभाभित नेपाली हरुलाई सहयोग गर्न दुताबास सातैदिन खुला रहेको बताउनु भएको छ। राजदुत डा सुबेदीले एक लिखित संदेश पठाउदै अगाडी भन्नु भएको छ - "कोरोनाको प्रकोपबाट उत्पन्न असामान्य र असहज परिस्थितिमा समस्त बेलायत,आयरल्याण्ड र माल्टाबासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई यस सम्वन्धी सूचना, सम्पर्क र समन्वयका लागि नेपाली राजदूतावास, लण्डन सदाझैं नियमित रुपमा खुला रहेको जानकारी दिन चाहन्छु । शनिवार र आईतवार समेत राजदूतावासमा सम्पर्क गर्न सक्नु हुनेछ ।सम्पर्कका लागि राजदूतावासको सूचना र वेवसाईट हेर्नु हुन अनुरोध छ ।"

प्रकाशित मिति: : 2020-04-01 05:50:28

प्रतिकृया दिनुहोस्