फ्रान्समा शव व्यवस्थापन जटिल हुँदै, तरकारी चिस्यानगृह बनाइयो शवगृह

अनुराधा पौडेल

पेरिस, फ्रान्स
तस्बिर : एलपी/मेराइन लेग्रान्ड

कोरोनाका कारण मृत्यूवरण गरेकाहरुको शव ब्यवस्थापन गर्न फ्रान्समा कठिनाइ देखिएपछि पेरिस नजिकको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय खाद्यान्न बजारको एक चिस्यान गृहलाई सरकारले आफ्नो नियन्त्रणमा लिएको छ। यो बजार पेरिस नजिकैको अर्को शहर भाल द मार्नमा रहेको छ जसलाई मार्शे दा राजिँस ( राँजिसको बजार) भनिन्छ । यही बजारको मिन भन्ने चिस्यान गृहलाई सरकारले नियन्त्रणमा लिएको हो।

पेरिस र आसपासका अस्पताल र शवगृह यतिबेला भरिभराउ छन् भने शवदाहगृहमा आफन्तका शव जलाउनका लागि पालो कुर्नेहरुको लामो लाइन छ। शव राख्ने ठाउँको अभाव भएको र शव जलाउने पालो पाउन पनि निकै कठिन भैरहेको अवस्थालाई ध्यानमा राखेर फ्रान्सेली सरकारले यो बजारको चिस्यानगृहमा कमसेकम ८०० देखि एकहजार ‘शव बेड’ थप्न शवगृहहरुलाई अनुमति दिएको छ।

पेरिस शहर रहेको अन्चल इल द फ्रन्स अहिले फ्रान्सको सबैभन्दा बढी सँक्रमण भएको क्षेत्र हो। बितेका दुइ हप्तामा यहाँ एक हजार ६ शय १ जनाको मृत्यू भएको छ । बितेको २४ घन्टामा मात्रै एक शय ९५ जनाको मृत्यू भएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो बेला १० हजारको हाराहारीमा अस्पतालमा बिरामी भर्ती भएका छन् भने दुइ हजार दुइ शय ४ जना बिरामी कोरोनाका कारण जीवन र मरणको दोसाँधमा गहन उपचार कक्षमा भर्ती भएका छन् । कोरोना सँक्रमणको बक्र रेखा केहि तल झरेको जस्तो देखिएपनि अझै केहि दिन मृतकहरुको संख्या बढ्ने अनुमान गरिएको छ। मृत्यूको यो अंकमा बृदाश्रम र घरमा ज्यान जानेको संख्या जोडिएको छैन।

राँजिसको चिस्यान गृहमा फ्रान्समै जलाइने शव र अन्तिम सद्गतका लागि आफ्नै देशमा लैजाने दुवै खाले शव राखिनेछन्। शुक्रबार देखि त्यहाँ कफीनहरु राखिनेछन् र सोमबारदेखि मृतकका आफन्तले कफीन देख्न आउन पाउँनेछन्।

मोरोक्को, ट्यूनिशियाजस्ता फ्रान्स आसपासका मुस्लिम देशका नागरिकले आफन्तका शव आफ्नै गाउँमा सदगत् गर्न लैजाने गर्छन् र उनीहरुले मृत्यू संस्कार आफ्नै देशमा गर्न विशेष खालको मृत्यू वीमा गराएका हुन्छन्।

यहाँ शब बेडहरु निर्माण गरिएपनि यहाँ भित्र मृतकको सिँगारपटार गर्न र कफीन खोलेर हेर्न आफन्त तथा शवगृहलाई बन्देज गरिएको छ। अस्पतालबाट सुरक्षा सतर्कता अपनाएर पठाइएका कफीन शव बेडमाथि राखिनेछ। तर, शवदाहगृह तथा शवगृहले आफूहरु पनि कोरोना संक्रमणको चपेटामा पर्न सक्ने भन्दै सरकारसँग मास्कका लागि निवेदन दिएपनि हालसम्म मास्क पाउँन सकेका छैनन्। अस्थाइ शवगृह निर्माण भएपछि शवदाहगृहको भार केही भएपनि कम हुने अनुमान गरिएको छ।

यसैगरी राजिँसको यो चिस्यानगृह अपुग हुने अनुमान गर्दै बिहिबार पेरिसको दक्षिणमा रहेका दुइ साना सहर ख्रेतेइ र भिल नभ साँ जर्ज बाहिर दुईवटा चिस्यान कन्टेनर राखिने सम्भावना छ। राजिँसको यो चिस्यानगृहलाई सन् २००३ मा समेत सरकारले आफ्नो नियन्त्रणमा लिएको थियो। त्यो बर्ष सुख्खा यामका कारण फ्रान्समा १५ हजारभन्दा बढी बृद्दबृद्दाको मृत्यु भएको थियो। 

प्रकाशित मिति: : 2020-04-03 05:40:06

प्रतिकृया दिनुहोस्