केआईआईटीमा एकपछि अर्को गर्दै किन आत्महत्या गरिरहेछन् नेपाली छात्राले?

Break n Links
Break n Links

भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अर्की एकजना नेपाली विद्यार्थी मृत फेला परेकी छिन्। बिटेकमा अध्ययनरत उनी बारा जिल्लाकी प्रिसा साह हुन्। 

घटनाबारे अनुसन्धान भइरहेको र पहिलाकोजस्तो कमजोरी नहुने स्थानीय प्रहरीले जनाएको छ। उनका परिवार नेपालबाट त्यता हिँडिसकेका छन्। परिवारका सदस्यहरूको उपस्थितिमा मात्रै पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ। 

नयाँ दिल्लीस्थित नेपाली दूताबासका अनुसार स्थानीय प्रहरी, प्रशासन र कलेज प्रशासनसँग पनि समन्वय भइरहेको घटनाबारे थप बुझ्ने काम भइरहेको छ। 

उनी छात्रवासकाे चौथाे तलास्थित आफ्नै कोठामा मृत भेटिएकी हुन्।

यही विश्वविद्यालयमा यसअघि पनि नेपाली विद्यार्थी प्रकृती लम्साल मृत फेला परेकी थिइन्। त्यो बेला उनलाई पछ्याइरहेका एकजना भारतीय युवकले उनलाई निरन्तर मानसिक यातना र ब्ल्याकमेलिङ गर्दै आएका थिए। 
घटनापछि उनको मृत्युबारे छानबिन हुनुपर्ने भन्दै नेपाली विद्यार्थीले आन्दोलन गरेका थिए। तर विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई अपशब्द बोल्दै त्यहाँबाट निकालेको थियो। 

दोस्रो नेपाली छात्राको पनि मृत्यु भएपछि भारतको सबैभन्दा ठूलो विद्यार्थी सञ्जाल अखिल भारतीय विद्या परिषद (एबिभिपी)ले विश्वविद्यालय प्रशासनमाथि गहिरो छानबिन गर्न र दोषीलाई तत्काल कारबाही गर्न भनेको छ। 

‘एकपछि अर्को गर्दै नेपाली विद्यार्थीहरूले लगातार आत्म गरिरहँदा पनि सरकार किन मौन बसिरहेको छ। यसरी विद्यार्थीहरूलाई निरन्तर आत्महत्या गर्न बाध्य बनाउनु निकै घीनलाग्दो र लज्जास्पद छ’ एबिभिपीले भनेको छ ‘राज्य प्रशासन र सरकारले यो विश्वविद्यालयमाथि तत्काल कुनै कारबाही प्रक्रिया अघि बढाओस् र आत्महत्या गरिरहेका विद्यार्थीहरू उचित छानबिन गरोस्।’

यो विद्यार्थी संगठन भारतीय जनता पार्टीको मातृ संस्था आरएसएसको विद्यार्थी संगठन हो। 


 

प्रकाशित मिति: : 2025-05-02 07:05:00

प्रतिकृया दिनुहोस्