लकडाउनको ११ औँ दिन- पाटन दरबार क्षेत्र (फोटो भिडियो)

ललितपुरमा लकडाउनको पालना कडाइका साथ गरिएको छ।

लकडाउनको एघारौं दिन शुक्रबार ललितपुरको चक्रपथ तथा भित्री सडकहरु सुनसान छन्। सडकमा खानेपानी, इन्धन तथा अस्पतालका सवारी साधन र एम्बुलेन्स भने निर्वाध सञ्चालनमा छन्। मुख्य सडक र भित्री क्षेत्रमा बसोबास गरेका सर्वसाधरणहरु घरभित्रै छन्।

चक्रपथ र भित्री क्षेत्रको स्थिति हेर्दा ती क्षेत्रमा लकडाउनको पूर्ण पालना भएको देखिन्छ। चक्रपथमा अनुमति विना सञ्चालन भएका सवारी साधनलाई सुरक्षाकर्मीले रोकेका छन्। सुरक्षाकर्मीले अनुमति विना संञ्चालन गरेका सवारी साधन नियन्त्रणमा लिएर चालकलाई घर फर्काउने गरेका छन्।

त्यसैगरी पदैलयात्रीलाई भने केही समय यथास्थानमा नै राखेर आईन्दा लकडाउन उलंघन नगर्न घर बाहिर ननिस्कन सचेत गराउँदै छोड्ने गरिएको छ ।

ललितपुरको एक मात्र विश्व सम्पदा क्षेत्र ललितपुर दरबार परिसर सुनसान थियो। २ जना रसियन पर्यटकबाहेक अरू कोही पनि मान्छे थिएनन्।

एक महिनादेखि नेपाल भ्रमणमा रहेका भ्लादिस्लभ लकडाउनसँगै नेपालमै अड्किए।

उनका अनुसार करिब १५० रसियन नागरिकहरू नेपालमै रहेको र कहिले स्वदेश फर्कने भन्ने कुनै निश्चित नरहेको बताए।

‘एभरेष्ट बेसक्याम्प गएका थियौं। गत साता सरकारले उद्धार गरी काठमाडौं ल्यायो। तर घर जाने जहाज नपाएर यतै अड्कियौं’, उनले भने,‘दूतावासले पनि खासै पहल गरेन। हामी यतै बसिरहेका छौ। खुसीनै छौ।’

१० वर्षदेखि कृष्णमन्दिर परिसरमा बस्दै आएका भट्टेडाँडाका कृष्ण माली बन्दले गर्दा हातखुट्टा कुँजिए जस्तो भएको बताए।

उनले आफ्नै सुरक्षाका सरकारले लकडाउन गरेको भन्दै वैशाख पहिलो सातासम्म गर्नुपर्ने माग गरे।

‘म एउटा बैंकको सुरक्षाकर्मीको रूपमा काम गर्छु। अफिस बन्द छ। डेरामै बसेको आज ११ दिन भयो, हात खुट्टा कुँजिएको जस्तो भइसक्यो तर केही छैन। हामीले सहने बानी परिसक्यो’, उनले भने।

पाटन दरबार परिसरमा रहेका केही सुरक्षाकर्मीले अत्यावश्यक बाहेक अन्यलाई रोकिरहेका थिए।

यस्तै ललितपुरकै बंगलामुखी मन्दिर परिसर पनि सुनासान थियो। यहाँ कोही पनि सर्वसाधारण बाहिर निस्किएका थिएनन्। पाटनका भित्री गल्ली पनि सुनसान थिए। बिहान २ घन्टा र साँझ २ घन्टा बाहेक अरू समय सर्वसाधारणले सरकारलाई पूर्णत सहयोग गरेका थिए।

सरकारले आव्हान गरेको लकडाउन पाटनबासीले पूर्ण पालना गरेका छन्।

धन्यवाद पाटनवासी !

हेर्नुहोस् तस्बिरहरू

 

प्रकाशित मिति: : 2020-04-03 16:43:10

प्रतिकृया दिनुहोस्