महामारीकै बीच डेमोक्र्याटिक पार्टीको प्राइमरी चुनाव

संयुक्तराज्य अमेरिकाको विस्कन्सन राज्यमा कोरोनाभाइरसको महामारीकै बीच मंगलबार डेमोक्र्याटिक पार्टीको प्राइमरी चुनाव हुने भएको छ । 

आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न विस्कन्सन राज्यमा चुनाव हुन लागेको हो । पार्टीले राज्यमा घरभित्रै बस्नेगरी आमजनतालाई जारी गरेको राज्यको आदेशलाई बेवास्ता गरी मतदानमा भाग लिन पार्टीका सदस्यहरुलाई आग्रह गरेको छ ।

राज्यका चुनावी स्थलको सुरक्षा भने नेसनल गार्डले गर्ने व्यवस्था मिलाइएको छ किनभने चुनावमा खटिएका हजारौं कार्यकर्ताले आफ्नो व्यक्तिगत सुरक्षामा खतरा भन्दै सहभागी हुन अस्वीकार गरिदिएका छन् । केही दर्जन मतदान स्थलहरु बन्द गरिएका छन्, तर खुला गरिएक केन्द्रहरुमा बिहान ७ बजेदेखि नै मतदान हुनेछ । 

चुनावी परिणाम भने मंगलबार नै घोषणा गरिने छैन । पूर्व निर्धारित मितिमै चुनाव गर्ने वा रोक्ने विषयमा अदालतमा मुद्दा समेत परेको थियो । अदालतले चुनाव पूर्व निर्धारित मितिमै गर्ने तर चुनावी नतिजा आगामी अप्रिल १३ यता घोषणा गर्न नपाइने आदेश दिएको थियो । जनस्वास्थ्यको कुरा उठाउँदै गभर्नरले राज्यमा चुनाव स्थगित गर्न आदेश दिए पनि सर्वोच्च अदालतले अन्तिम समयमा चुनाव रोक्न नपर्ने आदेश दिएको थियो । 

चुनावी मैदानमा सिनेटर बर्नी स्यान्डर्स र पूर्व उपराष्ट्रपति जो बाइडेन रहनु भएको छ । धेरै राज्यमा बाइडेनले चुनाव जित्नु भए पनि स्यान्डर्सले आफ्नो उम्मेदवारी परित्याग गरेका छैनन्। चुनावमा विजयी हुनेले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा रिपब्लीकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । 

जो बाइडेनले विस्कन्सन राज्यको चुनावमा आफू विजयी हुने र अन्तिम नतिजा पनि आफ्नै पक्षमा आउने बताउनु भएको छ । उनले बर्नी स्यान्डर्सको विजय हुने सम्भावना टर्दै गएको पनि दाबी गरे।

विस्कन्सन राज्यमा सोमबार रातिसम्ममा २ हजार ५०० भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भइसकेको र ७७ जनाको मृत्यु भइसेकेको छ । भाइरस संक्रमण रोक्न राज्यका गभर्नरले मानिसलाई घरबाहिर ननिस्कन र बाहिर निस्कनु परे सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ । 

प्रकाशित मिति: : 2020-04-07 13:27:00

प्रतिकृया दिनुहोस्