लकडाउनमा सीप सिक्दै महिला

रासस

तानसेन

पाल्पा, रामपुर नगरपालिका महिला यतिबेला लकडाउनको समय सिर्जनशील बनी सदुपयोग गरिरहेका छन्। कोभिड– १९ को संक्रमण फैलिन नदिन घरमै बसेर सिलाइबुनाइका काम गर्ने तिनको दिनचर्या नै बनेको छ।

 विभिन्न रङ्गीन कागज, धागो तथा खाली प्लाष्टिकका सिसीलाई प्रयोग गर्दै गमला र  झुल्लर बनाउने, स्वीटर, कुसन, चकटी र  डोरमेट, रुमाल  र मास्क बुन्ने, चुरामा बुट्टा भर्ने तथा सिलाइकटाइका कामसमेत उनीहरु गर्छन्।
 
 नगरपालिका ५ की विन्दु श्रेष्ठ अहिले  स्विटर र  आउटर बुनेर आफूले समय बिताउने गरेको बताउछिन्। उनी लकडाउनका बेला आफू सुरक्षित बन्दै घरमै बसेर बुनाइको काम गर्छिन्। 

यससँगै घरका छतमा तरकारी रोप्ने तथा विभिन्नथरिका अचार बनाउने काम उनी गर्छिन्। उनी जस्ता करीब १५  महिला यतिबेला यस क्षेत्रमा  यस्तै सीप आफैंँ सिक्ने तथा आफूले सिकेको सीप विकास गर्नमा व्यस्त छन्।

रामपुरकै मनकुमारी थापा मश्राङ्गी इन्टरनेटको माध्यमबाटै सीप सिकेर विभिन्नथरि पुतली बनाउछिन्। मोबाइलमा नचाहिने कुरा हेर्ने र खाली समय सुतेर बिताउनुभन्दा घरमा  गुडिया बनाउने तथा झुल्लरलगायत सामग्री तयार गरेर कोठा सजाउने गरेको मश्राङ्गीको भनाइ छ। 

उनी घरकै करीब एक रोपनी जग्गामा नियमित मौसमी तथा बेमौसमी तरकारीसमेत उत्पादन गरी बिक्री गर्छिन्। महिलाहरु आफूले सिकेको  सीपलाई विकास गर्न सके बजारमा माग हुने सामानको परिपूर्ति गर्न सहज हुने बताउँछन्। आफूले खाली समयमा यस्ता सीप सिकेमा  महामारी र विपत्तिको अवस्था हटेपछि बजारमा बिक्री गर्न सकिने तिनको भनाइ छ ।

नगरपालिकाका धेरै महिलाले मुडा बुन्ने तथा ढाकाको कपडाबाट थैली, झोला, पछ्यौरालगायत सामानसमेत बनाउने गरेका छन्। यसरी बुनेका सामग्री आफन्तलाई चिनोका रुपमा पनि दिइन्छ  उनीहरु अर्डर अनुसार पनि यस्ता  सामग्री बनाउँछन्। सामूहिक रुपमा काम गर्न नहुने हुँदा घरको कोठामै बसेर काम गर्दा पनि सहज नै भएको महिलाको अनुभव छ। 

आजभोलि बालबालिका टेलिभिजन तथा मोबाइलमा भुल्ने हुँदा उनीहरुमा कोरोनाको बारेमा सचेतना बढाउँदै इन्टरनेटका माध्यमबाट कागजका सामग्री बनाउन उत्प्रेरित गर्न सके झन् राम्रो हुनेछ। रामपुरकै विद्यालयकी शिक्षिका लक्ष्मी थापा खेर गएका कागज, झोला तथा कागजलाई मिलाएर गमला, फूललगायत सुन्दर आकृति तयार गर्न छोराछोरीलाई सिकाई दिन बिताउने गरेको बताउछिन्। 

यसो गर्दा विद्यालय जान नपाए पनि घरमै सीपको विकास हुने र जतिबेला पनि सुन्ने र हेर्ने गरिएका नकारात्मक कुरा उनीहरुको मानसिकताबाट हट्ने उनले बताइन्। बेला बेलाका तालीममा सिकेका सीपबाट तयार गरिएका सामग्री पछि बजारमा बिक्री गर्न समेत सकिने हुँदा महिलाको दिनचर्या नै यसमै बितेको छ। समूहमा बस्दा कोरोनाको संक्रमण फैलिन सक्ने कुरालाई ध्यानमा राखी एक्लै घरमै सीप प्रयोग गर्दा धेरै सामग्री तयार हुने गरेको महिलाको अनुभव छ।
 

प्रकाशित मिति: : 2020-04-09 13:10:49

प्रतिकृया दिनुहोस्