कोरोना उपचारका लागि प्रभावकारी हुने औषधि पत्ता लागिसक्याे: ट्रम्प

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारका लागि प्रभावकारी हुने औषधि पत्ता लागेको दाबी गरेका छन्।

ह्वाइट हाउस कोरोना टास्क फोर्सको बिहीबारको नियमित ब्रिफिङ्गको क्रममा राष्ट्रपति ट्रम्पले उक्त दाबी गरेका हुन्।

उनका अनुसार उत्पादक कम्पनी फाइजरले औषधि कोरोनाको संक्रमण पुनः फैलिन नदिनका लागि अति उपयुक्त तथा प्रभावकारी हुने औषधि उत्पादन गरेको छ।

त्यसको मानवीय परीक्षण चाँडै सुरु हुने उनले बताएका छन्।अहिले त्यसको फुड एण्ड डर्ग एड्मिनिस्ट्रेसन (एफडिए) ले परीक्षण गरिरहेको उनले जानकारी दिए।

ट्रम्पले ब्रिफिङ्गको क्रममा औषधि उत्पादक सो औषधि या उपचार पद्धतिप्रति अति नै आशावादी र उत्साही रहेको बताए। 

विश्वभरका वैज्ञानिकहरु अहिले कोरोनाविरुद्धको खोप बनाउने अभियानमा जुटेका छन्। यसमा सकारात्मक काम भइरहेको भए पनि तत्काल कुनै खोप उलब्ध भइसकेको छैन।

ट्रम्पले कोरोनाको उपचारमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन पनि प्रभावकारी हुने बताउँदै आएका छन्।

वैज्ञानिकले त्यसको प्रभावकारिता पुष्टि नगरे पनि ट्रम्पले भने त्यसको प्रयोगमा जोड दिँदै आएका छन् र अमेरिका सरकारले ठूलो मात्रामा सो औषधि भण्डारण गर्न थालेको पनि छ।

यसैबीच ट्रम्पले अमेरिकामा अहिलेसम्म २० लाख भन्दा बढीमा कोरोना भाइरस रहे नरहेको थाहा पाउन परीक्षण गरिएको दाबी गरेका छन्।

तर उनको यो दाबी वास्तविक संख्या भन्दा कम रहेको हुन सक्ने बताइन्छ। यस्तै धेरैले अझै पनि परीक्षण गर्न नपाएको बताउने गरेका छन्।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ हजार पाँच सय भन्दा बढी भएको छ। बिहीबार मात्रै १७ सय भन्दा बढीको मृत्यु भएको छ। अमेरिकामा कुल संक्रमितको संख्या चार लाख ६५ हजार भन्दा बढी रहेको छ।

प्रकाशित मिति: : 2020-04-10 06:37:05

प्रतिकृया दिनुहोस्