टेलिकमको भ्वाइस तथा डाटा सेवामा निरन्तरता

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल टेलिकमले लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ। 

सरकारले तेस्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राखी उक्त अफरको अवधि २७ चैत २०७६ देखि २०७७ वैशाख ४ गतेसम्म बढाएको हो ।

यस अवधिमा जीएसएम सेवामा डाटा प्याकअन्तर्गत पहिलो प्याकेजमा रु १०० मा एक जीबी डाटा खरिद गर्दा तीन जीबी डाटा बोनसस्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा पाँच दिनभित्र खपत गर्नुपर्नेछ । 

त्यसैगरी दोस्रो प्याकेजमा रु २०० मा दुई जीबी डाटा खरिद गर्दा आठ जीबी डाटा बोनसस्वरुप प्राप्त हुनेछ र कम्पनीको फोरजी नेटवर्कमा सात दिनभित्र खपत गरिसक्नुपर्दछ ।

यसरी रु १०० मा बोनससहित कुल चार जीबी र रु २०० मा बोनससहित १० जीबी डाटा प्रयोग गर्न सकिने टेलिकमले आज एक विज्ञप्ति निकालेर गरी जनाएको हो । 

कम्पनीकै नेटवर्कभित्र भ्वाइस कल गर्न जिएसएम र सिडीएमए सेवामा हाल उपलब्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलब्ध गराउने निर्णय गरिएको छ । सोअन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि रु २५ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ । 

यसैगरी दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि रु १०० मा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी रु २५ मा एक दिनका लागि बोनससहित ६० मिनेट र रु १०० मा सात दिनका लागि बोनससहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ ।

टेलिकमले कोरोना भाइरसको महामारीले सिर्जना गरेको हालको विषम परिस्थितिमा उल्लिखित व्यवस्थाबाट ग्राहकवर्ग तथा समस्त देशवासीलाई आफ्ना परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहन सहयोग पुग्ने अपेक्षा गरेको छ । 

प्रकाशित मिति: : 2020-04-10 07:23:57

प्रतिकृया दिनुहोस्