'औषधि खाइरहेँ भने मर्दिनँ रे, मलाई बाँच्न मन छ'

सेतोपाटी

काठमाडाै‌ं

लकडाउनमा उद्धार गरिएका सडक बालबालिकाको कथा

 

युवराज श्रेष्ठ

पोखराभन्दा माथि लुम्ले जाने बाटोमा नौडाँडा नपुग्दै आउँछ, ढिकुरपोखरी। अन्नपूर्ण गाउँपालिकाको प्रवेशद्वारमै पर्ने ढिकुरपोखरीको लेबाडेमा ‘चिल्ड्रेन नेपाल’ नामक संस्थाका केही आकर्षक भवन देखिन्छन्।

बिहीबार दिउँसो हामी पुग्दा केटाकेटीहरू आँगनमै थिए। कोही गीत गाउँदै, कोही नाच्दै त कोही ताली बजाउँदै। संसारभरि कोरोनाको त्रास छाएका बेला उनीहरूका आँखामा चिन्ताको झलक थिएन। उनीहरू खुसी थिए, निश्चिन्त थिए।

तल्लो भवनको भान्साअगाडि एउटा फ्लेक्स प्रिन्ट टाँसिएको छ, जहाँ लेखिएको छ– बालबालिका आफ्नो अधिकारमा रमाइरहेको समाज।

हामी बाहिरका मान्छे पुग्नेबित्तिकै उनीहरूले नाचगान रोके। कोही घरभित्र छिरे, कोही बाहिर दौडे। कोही भने धक नमानी हामी नयाँ मान्छेसँग कुराकानी गर्न अघि सरे।

तिनैमध्ये एक थिए, विनोद रानाभाट।

विनोद १३ वर्षका छन्। मादी गाउँपालिकाको काफलडाँडा उनको घर हो। उनलाई जन्मजात एचआइभी एड्स छ।

विनोदका बुबा काम गर्न भारत गएका थिए। फर्केर आएपछि उनको जन्म भयो। उनका दुई जना दिदी र एक जना दाइ छन्। बुबाले भारतबाट बोकेर ल्याएको एचआइभी आमालाई सर्‍यो, आमाको गर्भबाट विनोदमा।

'म जन्मिएपछि ममीलाई गाउँमै चट्याङ लाग्यो। पोखरा अस्पतालमा उपचार गर्दागर्दै बित्नुभयो,' विनोदले भने, 'मलाई र ममी–बुबालाई एचआइभी भएको कसैलाई थाहा थिएन। पल्लो घरका ठुलोबुबा–ठूलीआमालाई पनि भन्नुभएन। समाजले कुरा काट्छ भन्नुहुन्थ्यो, हेला गर्छ भन्नुहुन्थ्यो।' 

एक रात विनोदका बुबा घरनजिकै जंगल गएका थिए। रूखमा चढेर घाँटीमा पासो हाले।

'त्यसपछि ममी–बुबा नै रहनुभएन,' यति भनेर विनोद एकछिन खुब रोए।

उनका दाइ कतारमा छन्। दुई जनै दिदीको बिहे भइसक्यो। घरमा उनी एक्लै परे। गाउँलेहरू पनि टाढा-टाढा भए। उनले एचआइभीको औषधि खान थालेका थिए। दिनहुँ बिहान र बेलुकी ८ बजे खानुपर्थ्यो। एक वर्ष भयो खान छाडेका छन्। उनको औषधिको कागजपत्र पोखरामै दिदीसँग छ।

प्रकाशित मिति: : 2020-04-10 08:10:40

प्रतिकृया दिनुहोस्