स्थानीय र प्रदेश सरकारले विरोध गरेपछि बाहिर जान दिने निर्णय फिर्ता- प्रधानमन्त्री कार्यालय

देशसञ्चार

काठमाडौँ

शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान दिने निर्णय प्रदेश र स्थानीय सरकारका कारण फिर्ता लिनु परेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समितिले उपत्यकाबासीलाई शुक्रबार र शनिबार बाहिर जाने दिने निर्णय गरेको भन्दै  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्ना आधिकारिक फेसबुक पेजमा सूचना राखेको थियो।

यो सूचना एकाएक भाइरल भएको थियो। तर रक्षामन्त्री ईश्वर पोखरेल र गृह मन्त्रालयले छुट्टाछुट्टै विज्ञप्ति निकाल्दै समाचार झुटो भएको र त्यस्तो निर्णय नभएको बताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो पुरानो स्टाटसलाई सम्पादन गर्दै तल लेखेको छ- स्थानीय तथा प्रदेश स्तरका सरकारहरुले मान्यता नदिएको हुनाले भोलि र पर्सि काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ ।

उच्चस्तरीय समितिको निर्णय बाहिरिएलगत्तै प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलले आपत्ति जनाएका थिए। सामाजिक सञ्जालमा उनले लेखेका थिए- काठमाडौँबाट बाहिर जान दिने र वाहिरवाट काठमाण्डौ जान नदिनेकुरा सत्य होइन। लकडाउनको अर्थ लकडाउननै हो।वरु वेखर्चीलाई राहत दिने हो।

प्रकाशित मिति: : 2020-04-10 08:13:34

प्रतिकृया दिनुहोस्