हो म गद्दार हुँ

प्रेम नेउपाने

राउते रुम्तेक पूर्व सिक्किम

स्वाभिमानी देशको स्वावलम्बीय कदमहरुमा
उट्पटाङ्गका कुरा तेर्स्याएर
जनमानसमा व्यर्थका अफवाह फैलाउने 
हो म देश को गद्धार हुँ।

भल बाड़ी हावा हुरी भूकम्प 
अनेकौ प्राकृतिक प्रकोपहरू
जीउने अनेक रहर भएर पनि
अकाल मृत्यु भएका ती निर्दोष 
बेवारिस लाशहरू 
हाहाकार र चित्कारले गुञ्जायमान आकाश
यसबेला प्राप्त हुने सरकारी राहत
अनेक बहानाले सुटुक्क गरि 
आफ्नै भण्डार भरेर 
जन मानसमा अन्योलता भरेर
आफू नुनको सोझो हुन खोज्ने
हो म देश को गद्धार हुँ।

सीमानामा हरदम खटी रहने
देखीरहन्छु म सिपाहीहरु
मेरै एक रात को मीठा सपना दिलाउनेहरु
मेरै निम्ति छातिमा गोली खाएर 
शहीद बन्दछन् 
अनि म उनै वीर सिपाहीका परिवारमा
अधिकारका कुरा गर्दै
उनीहरुकै अधिकार हनन गर्न खोज्ने
हो म देश को गद्धार हुँ।

मेरा देशका कतिपय गुप्ती कुराहरू
गोप्य योजना र महत्वपूर्ण कदमहरु 
म मेरो सानो झोपड़ी भित्र
अंतरजाल*का तानावना मिलाउँदै
सामाजिक सञ्जाल माध्यम बनाउँदै
देश विदेशभरि साझा गरि
म मेरै देश को अस्तित्वसँग खेलवाड गर्दै
म बदनाम गर्न लागी परेको
हो म देश को गद्धार हुँ।

पहाड़ पाखा र कन्दरादेखी बग्दै बग्दै
हिमालहरुको हार बनेर
सजिएका सुन्दर यी खोला नाला झरना र नदीहरु
यी वन्य सम्पदाहरु 
म रम्न सकिन यी सुन्दरताहरुमा 
यसैले त नित्य म बाँध हालेर 
यी निर्मल चञ्चल जल परिधिलाई
सँधै धमिल्याउन चाहने 
हो म देश को गद्धार हुँ।

मेरा बाबाले देखाउनुभएका
पसीनाका मूल्यहरु अनि
आमाले सिकाउनु भएका
संस्कारका विषयवस्तु पर पन्साएर
भौतिक सुख सम्पदामा रम्न हिंड़दै
पश्चिमी सभ्यता अप्नाएर
मेरा पौराणिक मान्यतालाई
उपहास गर्ने म 
हो म देश को गद्धार हुँ।

आऊ मलाई समाऊ 
ए सभ्य मानव
म मेरा गलतीहरु स्वीकार्न चाहान्छु
देऊ दंड मलाई देशद्रोहको
देऊ फाँसी मलाई
किनकी
म देश को गद्धार हुँ।

प्रकाशित मिति: : 2020-04-11 12:38:49

प्रतिकृया दिनुहोस्