भारतीय मिडियाले आफ्नो कुरा नसच्चाए अदालत जान्छुः जालिम मियाँ अन्सारी (भिडियाेसहित)

भारतमा कोरोना भाइरस फैलाउन आफूले सड्यन्त्र गरेको आरोपको कडा प्रतिक्रिया जनाएका पर्सा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ अन्सारीले बिना प्रमाण समाचार प्रसारण गर्ने भारतीय मिडियाविरूद्ध कडा कार्यवाही गर्न सरकारसँग आग्रह गरेका छन्। 

शनिबार बिएल नेपाली सेवालाई विशेष अन्तर्वार्ता दिनेक्रममा उनले भने, ‘यो सिंगो देशमाथि प्रहार हो। देशको एक जिम्मेवार जनप्रतिनिधिमाथि बिना प्रमाण आरोप लगाउन पाइन्छ?’

उनले आफूलाई बदनाम गराउन सिलसिलावर रूपमा केही गिरोह षड्यन्त्रणमा लागेको आरोपसमेत लगाए। उनले भने, ‘यो गिरोह कहिले हिन्दु–मुस्लीमको कुरा उठाउँछन्, कुनै बेला मधेशी पहाडीको विभेदको कुरा उठाउँछन्।’

उनले ती गिरोहले भारत र नेपालबीच राम्रोसम्बन्ध हेर्न नचाएको पनि बताए। ‘यी व्यक्ति नै बिना तथ्य भारतीय मिडियालाई गुमराहमा पारिरहेका छन्,’ उनले भने, ‘म के कोरोना उत्पादन गर्ने फ्याक्ट्री हो। के मैले नै उत्पादन गरेर चीन र अमेरिका पठाएर विश्वमा फैलाए?’

भारतीय मिडियामा शुक्रबार उनीविरूद्ध भारतमा कोरोना भाइरस फैलाउन सड्यन्त्र गरेको समाचार प्रकाशित भएको थियो। भारतीय मिडियाले ४०–५० को संख्यामा कोरोना संक्रमित मुस्लिमलाई नेपालबाट उनले पठाएको आरोप लगाएका थिए। 

तर, जालिम मियाँले बिएल नेपाली सेवामार्फत यस कुराको खण्डन गरेपछि शनिबार केही भारतीय मिडियाले आफ्नो समाचारमा संसोधन गरेका छन्। जगरनाथपुर गाउँपालिका भारतीय सीमासँग जाेडिएको नेपाली गाउँ हो। कोरोना भाइरस संक्रमणको सम्भावनालाई लिएर दुबै देशको सुरक्षा निकायले यो ठाउँमा कडा निगरानी बनाएको छ। 

‘म भारतीय मिडियालाई चुनौति दिन चाहन्छु, तपाईहरु मेरो गाउँलगायत जिल्ला आएर हेर्नुहोस्। यहाँ कोही पनि कोरोना संक्रमित पाकिस्तानी नागरिक भेटिए यसको सम्पूर्ण जिम्मेवारी म लिन्छु,’ उनले भने–‘यदी भारतीय मिडियाले आफ्नो भनाई नसच्याए अदालतको सहयोग लिनेछु।’

भारतीय मिडियाले बिहार राज्यका डीजीपी गुप्तेश्वर पाण्डेलाई उत्रित गर्दै समाचार बनाएका थिए, तर बिहार प्रहरीले भारतीय मिडियामा आएको समाचार निराधार भएको बताइसकेकाे छ।  

जालिम मियाँ तत्कालिन माओवादी तथा हाल नेकपाका निर्वाचित जनप्रतिनिधि हुन्। उनी लामो समयदेखि राजनीतिमा सक्रिय छन् भने उनलाई नेकपाका सह–अध्यक्ष पुष्पकमल दाहाल नजिक मानिन्छ। उनले आफूविरूद्ध आएको समाचारलाई लिएर शनिबार बिहान गृह मन्त्रालयका सचिव, उर्जा मन्त्रीलगायत पार्टीका केही शीर्षनेतासँग कुरा भएको बताए। 

‘म स्थानीय सरकारको प्रतिनिधि भएको हुनाले सिङ्गो सरकार मेरो साथमा छ। आमनागरिकदेखी प्रहरी प्रशासन मेरो साथमा छ। जसकारण म ढुक्क छु। यहि मेरो सत्यता हो,‘उनले भने ‘ भारतीय मिडियाको यस्तो गतिविधिप्रति त्यहाँको प्रशासनले सत्यतथ्य पत्ता लगाई अवश्य कारवाही गर्नेछ ।’

याे पनि
प्रकाशित मिति: : 2020-04-11 21:15:14

प्रतिकृया दिनुहोस्