काभ्रेको मण्डनदेउपुर नगरपालिका भन्छ– रिपाेर्ट अस्पष्ट आएकाे हाे, काेराेना संक्रमित भेटिएकाे हाेइन

दीप सुवेदी

रोशी, काभ्रे

काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आफ्नो नगर परिसर भित्र कुनै कोरोना संक्रमित फेला नपरेको दाबी गरेको छ। म‌ंगलबार गरिएकाे र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षणमा एक जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे संचार माध्यममा समाचार आएपछि नगरपालिकाले त्यसकाे खण्डन गरेकाे हाे। 

विदेशबाट आएका १७ जनामा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएपनि १ जनाको रिपोर्ट मात्रै अस्पष्ट आएको नगपालिकाले बताएको छ।

मण्डनदेउपुर नगरपालिका–३ का २३ वर्षीय युवककाे उक्त अस्पष्ट रिपोर्टलाई थप परिक्षण गर्नका लागि धुलिखेल अस्पालमा पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताएका छन्।

‘एक जनाको रिपोर्ट अस्पष्ट देखिएको हो। कुनै पोजेजिभ आएको होइन। हामीले थप परिक्षण गर्नका लागि धुलिखेल पठाएका छौं। अहिलेसम्म रिपोर्ट आएको छैन,’उनले बिएल नेपाली सेवासँग भने।

उनका अनुसार चैत ७ गते दुबईबाट काभ्रे आएका उनलाई नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा २२ दिन राखेर घर फर्काएको थियाे।

‘उहाँलाई हामीले क्वारेन्टाइनमा राखेका थियौं। त्यस्तो कुनै लक्षण नदेखिएपछि घर फर्काएका हौं। उहाँको सम्पर्कमा आएकालाई पनि क्वारेन्टाइनमा राखेका छौं,’अधिकृत न्यौपानेले भने।

डिजिटल सर्भे शुरु

नगरपालिकाले नगरबासीको स्वास्थ्य अवस्था अनलाइनबाटै लिन थालेको छ। विदेशबाट आएकाहरुको अवस्था, परिवार सदस्य, बिरामीको अवस्था बुझन डिजिटल सर्भे शुरु गरिएको मेयर टोकबहादुर वाइवाले बताए। 

‘स्वास्थ संस्थमा धेरै भिडभाड हुने भएको र सबैको पहुँच नपुग्ने भएका कारण डिजिटल सर्भे शुरु गरेका छौं,’उनले भने,‘ सर्भेमा बिरामी भए/नभएको,भएमा कुन औषधीको प्रयोग गरेको र अवस्था कस्तो रहेको छ त्यसबारे जानकारी लिन्छौं।’

यस सर्भेमा नगरपालिका बाहिर रहेकाले पनि सहभागिता जनाउन सक्ने मेयर वाइवाले बताए।  

यस्तै उनले अहिले सचेतना जगाउने, मास्क वितरण गर्ने काम भइरहेकाे बताए। यसका साथै भइपरि आउने समस्यालाई समाधान गर्न स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेकाे मेयर वाइवाले बताए।

द्रूत परिक्षण भइरहेको छः स्वास्थ्य कार्यालय, काभ्रे

चैत्र १ गतेदेखि विभिन्न मितिमा स्वदेश फर्किएका जिल्लाका २ सय ५१ गतको द्रूत परिक्षण भइरहेको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए।

फागुन १ देखि चैत्र ९ गतेसम्म नेपाल फर्किएका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखा र धुलिखेल अस्पतालमार्फत निगरानी गरिएको झाले जानकारी दिए।

डा. झाका अनुसार, कुवेत, साईप्रस, जापान, इराक, दुबई, कोरिया, भारत, मलेसिया, बहराइन, जोर्डन, न्यूजिल्याण्ड, बंगलादेश, चीन, माल्टा, मकाउ, माल्दिभ्स, युएई, ओमान, फ्रान्स, अस्ट्रेलिया, अमेरिका, जर्मन, उरुग्वे, थाईल्याण्ड, कतार, कम्बोडियालगायतका मुलुकहरुबाट जिल्लाबासीहरु स्वदेश फर्किएका छन्।

पनौतीमा १ सय १, मण्डनदेउपुरमा ३८, पाँचखालमा ३५, बनेपामा ३४, रोशी गाउँपालिकामा २२, बेथान्चोकमा २२, तेमालमा १८, नमोबुद्ध नगरपालिकामा १८, महाभारतमा १४, खानीखोलामा ११, चौरीदेउरालीमा १० र भुम्लुमा ३ जना फर्किएका छन्।

विदेशबाट फर्किएका केहीको स्वास्थ्य परिक्षण भए पनि लक्षण नदेखिएकाहरु होम क्वारेन्टाइनमा रहेको झाले जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-15 10:56:37

प्रतिकृया दिनुहोस्