नेपाली कागज बनाउने रमा भन्छिन्- लकडाउनले छाक टार्नै गाह्रो भयाे (भिडियाे)

४० वर्षिय रमा मिश्र बिहान उज्यालो भएदेखि रातिसम्म नेपाली कागज बनाउने कारखानामा काम गर्छिन्। बुढानिलकण्ठ नपा ११ कपनमा ‍४ रोपनी जग्गा भाडामा लिएर उनले 'नेपाली कागज' बनाउने कारखाना खोलेकी हुन्।

विगत दस वर्षदेखि नेपाली कागज बनाउने काम गर्दै आएकी उनलाई श्रीमान कृष्ण मिश्रले साथ दिइरहेका छन्।

सासु, ससुरासँगै दुई छोरा र दुई छोरीसहित ८ जनाको परिवार पाल्न उनीहरू दैनिक कागज बनाउने काममा खटिन्छन्।

यसअघि भर अबरबाहेक अन्य कुनै पनि बेला बन्द नभएको उनीहरूको कारखाना संसारभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सरकारले लकडाउन गरेसँगै बन्द छ।

विगतका दिनमा खटेर काम गरेवापत ४/५ सय कागज बनाउने सक्ने यी दम्पत्ति अहिले फुर्सदिला भएका छन्। अहिले उनीहरू मुस्किलले दिनमा सय वटा मात्रै कागज बनाउन सक्छन्।

उनीहरूले कारखानामा ३/४ जना कर्मचारीसमेत राखेका थिए। ‘कमाई राम्रै थियो। कर्मचारी पनि राखेका थियौं। अहिले सबै कर्मचारी लकडाउनका कारण गाउँ गइसक्नुभयो,' उनले बिएल नेपाली सेवासँग कुरा गर्दै भनिन्।

उनीहरूले कर्मचारीलाई कागजका पिस हिसाबले तलब दिने गरेका छन्। एउटा कागज बनाए वापत उनीहरूले ७ रूपैयाँ दिने गरेका छन्।  'काम हुँदा त कर्मचारीले मासिक १५ हजारसमेत कमाउनु हुन्छ। तर पानीपर्ने याममा भने कम हुन्छ’, उनले भनिन्।

आफूले गर्दै आएको काम हेर्दा जति सजिलो भए पनि काम गर्दा भने गाह्रो हुने रमाले बताइन्। 'दुःख परेर काम गर्नेपर्छ भन्ने सोचका मान्छे छिट्टै काम सिक्न सक्छन्। नभए हत्तपत्त कागज बनाउने काम कसैले पनि सिक्न सक्दैनन्’, उनले भनिन्, 'मुश्किल छ काम गर्न।'

जस्तोसुकै मुश्किल भए पनि आफ्नो खाना खाने भाडो यही पेशा भएको भन्दै उनले लकडाउनका कारण घरबाट बाहिर निस्कन डर लाग्ने बताइन्।

कोभिड-१९ को जोखिम रोकथामका लागि सरकारले गरेको घोषणा लकडाउनलाई पालना गर्दै आफूलगायत स-परिवार ४/५ दिन घरभित्रै बसेको उनले बताइन्।

‘ज्यानको माया कसलाई पो नहोला र? तर कति डरकै त्रासमा बस्नु भनेर काम गर्न थालेका छौं’, उनले भनिन्, ‘काम गर्दा पनि हामीले सामाजिक दूरी कायम गरेका छौं। घर बसिरहनू पनि मन लाग्दैन्। कमाई नगरी बस्यो भने कसले खान दिने र?'

कोरोनाको त्रासबाट बच्नका निम्ति मुखबाट माक्स र दिनमा ४/५ पटक साबुन पानीले हात धुने गरेको उनले सुनाइन्। 'माक्स छोड्नै मन लाग्दैन्। मुखबाट माक्स निकाल्ने भनेको त खाना खाने बेला मात्रै हो', उनले भनिन्, ‘साबुन पानीले हात धोईरहेका छौं।'

कोरोनाबाट बच्न हालसम्ममा कुनै औषधि पत्ता नलागेको भन्दै रमाले यसबाट बच्न घरमै बस्नुपर्ने आफूहरूलाई राम्रोसँग थाहा भएको बताइन्।

लकडाउनका कारण सरकारले राहत दिने घोषणा गरे पनि आफूलाई त्यसको कुनै लोभ नभएको उनको बताइन्। ‘राहत त्यस्ता व्यक्तिले पाउनुपर्छ। जसलाई दिनमा छाक टार्न गाह्रो पर्छ', उनले भनिन्, 'आफूलाई त २/३ बोरा चामल किनेर राखेकी छु। हालसम्म खानामा कुनै कष्ट परेको छैन्।'

राहत पाउनुपर्ने मान्छेभन्दा नपाउनुपर्ने व्यक्तिले पाएकोमा उनलाई गुनासो छ।

कोरोना जस्तो महामारीबाट बच्न सरकारले आव्हान गरेको लकडाउन राम्रै हो। तर लामो समयसम्म घरमै बसिरहँदा खानाकै समस्या हुने उनले बताइन्।

प्रकाशित मिति: : 2020-04-17 08:36:00

प्रतिकृया दिनुहोस्