भोको पेट, यात्रा ४ सय किलोमिटरको !

प्रकाश ढकाल

काठमाडौं

झोलामा केही थान बिस्कुट, चाउचाउ र सानो पोको चिउरा छ। केही जोर टिसर्ट र पाइन्ट पनि हालेका छन्। खल्तीमा एउटा हजार र अर्को पाँच सयको नोट पनि छ। न ठाउँको पत्तो छ, न त जाने बाटोको ज्ञान छ। विहिबार मिर्मिरेमै गाउँ छोडेका उनीहरु साँझ मात्रै पोेखरा आइपुगे।

कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागिधारमा खानेपानी आयोजनाको लेवर काम गर्ने ७ जनाको टोली अहिले पोखराको विरौटामा अलपत्र छ। कति हिंड्नुपर्छ र कति दिन लाग्छ घर पुग्न कसैलाई थाहा छैन। गुगलमा सर्च गर्दा थाहा लाग्यो, पोखराबाट दाङ पुग्न ३ सय ४७ किलोमिटर लामो बाटो रहेछ।

ती मजदुरहरुले विहिबार मात्रै करिब ४० किलोमिटरको दूरी पार गरिसके। दाङ सदरमुकाम पुगेपछि पनि १ दिनभरिको पैदल हिंड्नुपर्छ उनीहरुको घर पुग्न। मोटामोटी हिसाब गर्दा उनीहरुले ४ सय किलोमिटरभन्दा धेरै दूरी पैदल हिंड्नुपर्छ। दिनमा ४० किलोमिटर हिडे भने पनि १० दिनभन्दा बढी लाग्छ, घरसम्म पुग्न। तर उनीहरुलाई यो जानकारी छैन। त्यसमाथि प्रशासनको ठाउँठाउँमा हुने अवरोधबारे त बुझ्ने कुरै भएन।

प्रकाशित मिति: : 2020-04-17 13:16:40

प्रतिकृया दिनुहोस्