अलपत्र परेका यात्रुलाई सहयाेग गर्दै करातेका राष्ट्रिय खेलाडी मन्डे काजीकाे टाेली

दीप सुवेदी

भक्तपुर

काठमाडौं उपत्यका छाडेर पूर्वतर्फ जाने पैदल यात्रुलाई करातेका राष्ट्रिय खेलाडी एवम् समाजसेवी मन्डे काजी श्रेष्ठको अगुवाईमा निःशुल्क खाना खुवाई गाडी चढाएर पठाइदिने व्यवस्था गरिएकाे छ। 

समाजसेवी श्रेष्ठ,राष्ट्रिय युवा संघ, नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकाेटा (दिपशिखा) र वेभ ग्रुप अध्यक्ष नरेश रन्जितलगायतका टाेलीकाे सहकार्यमा याे काम गरिएकाे हाे। टाेलीले अरनिको राजमार्ग हुँदै गृह जिल्ला फर्कदै गरेका यात्रुहरुलाई खाजाको प्याकेट वितरण गरेकाे छ।

कोरोना भाइरस संक्रमण रोक्न सरकारले लकडाउन घोषणा गरेको लगभग एक महिन हुन लागेको छ। यसबीचमा रातारात भोकभोकै हिँडेर भक्तपुरबाट काभ्रे, सिन्धुपाल्चोक,रामेछाप र दोलखा पैदल यात्रा गर्नेको संख्या बढेपछि उनीहरुलाई सहयोग गर्न थालिएको हो ।  

बिएल नेपाली सेवासँग कुरा गर्दै श्रेष्ठले भने, ‘यो समयमा हामी मात्रै खाँऊ र हामीमात्रै लगाऊँ भन्ने सोच्न हुँदैन। यस्तो महामारीमा काेही पनि भोकमरीको समस्यामा नपरुन भनेर खाजा वितरण गरेका छौं।’

उनले कतिपय यात्रु चप्पलकाे सहरामा हिँडेका बताए। उनीहरुलाई जुत्ताकाे समेत व्यवस्था गरिएकाे जानकारी दिए।

उनले आफूहरु सामाजिक दूरी कायम गरेर सहयोग गरेको बताए। ‘यो समयमा धेरै जोखिम छ। तर हामीले जनताको दुःख बुझेर नि: स्वार्थ राजनीतिक करण नगरि सहयोग गरिरहेका छौं,’ उनले भने।

यता वेभ ग्रुप अध्यक्ष रन्जितले ज्याला मजदुरी गरिरहेकाहरुलाई सहयोग गरिरहेको बताए। ‘हामीले मानव कल्याण सेवा आश्रमबाट सडकमा रहेका बालबालिका, बुद्धबृद्धाहरुलाई सहयोग गरिरहेका छौं,’ उनले भने,‘ राष्ट्रिय खेलकुद समिति भक्तपुरबाट बिहान ११ बजेदेखि १ बजेसम्म खानाको व्यवस्था गरिरहेका छौं।’

यता राष्ट्रिय युवा संघ,नेपालका केन्द्रीय अध्यक्ष सापकाेटाले भक्तपुरबाट १५ सय बढीलाई उद्दार गरेर गृह जिल्ला फर्काएको बताए। यस्तै २ हजारभन्दा बढीलाई सहयोग गरेको पनि जानकारी दिए।

 

प्रकाशित मिति: : 2020-04-23 14:58:38

प्रतिकृया दिनुहोस्