‘नगरपालिकाले घर फर्काएपछि स्थानीय भन्छन्, ‘अब गाउँमा साग भात खाएर भए नि बाँचिने भै’यो’

काठमाडौं अड्किएका रतुवामाईवासीलाई नगरपालिकाले घर फर्कायो

तेजन खड्का

उर्लाबारी

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि देशव्यापी आह्वान गरिएको लकडाउनका कारणले काठमाडौंमा अलपत्र परेका मोरङ रतुवामाईवासीलाई नगरपालिकाले घर फर्काएको छ।

रतुवामाई नगरपालिकाले आफैं आर्थिक खर्च बेहोर्ने गरी पाँच वटा बसको व्यवस्था गरेर यहाँका नागरिकलाई मंगलवार घर फर्काएको हो ।

काठमाडौंबाट रतुवामाई आएका स्थानीयलाई सरस्वती माविमा स्वास्थ्य चेकचाँज गरिनुको साथैं खाजा वितरण गरिएको थियो ।

काठमाडौंबाट लामो दुरीबाट घर फर्किन पाएकोमा रतुवामाईका जुलन राईले नगरपालिकालाई धन्यवाद तथा आभार प्रकट गरे। ‘काठमाडौंमा लकडाउनका कारण भोकभोकै मर्छौं जस्तो लागेको थियो’, जुलनले भने, ‘घर आउन पाएकोमा धेरै खुशी लागेको छ, नगरपालिकाका मेयर साव, प्रहरी प्रसाशन सबैलाई धन्यवाद दिन चाहान्छौ। अब चाँही बाँचिने भईयो।’

लकडाउन अझै बढ्नसक्ने सम्भावना रहेकाले विविध कारणले काठमाडौंमा रोकिएका नगरवासीलाई फिर्ता ल्याउनुपर्ने दबाब भएपछि सांसद, प्रशासनसँग छलफल गरेर  रतुवामाई नगरपालिकाले आफ्ना नागरिक फिर्ता ल्याएको मेयर रबिन राईले जानकारी दिए।

‘हुन त यहाँ सबै जना आउँदा रोग फैलिने सन्त्रासले नल्याउन भनिएको थियो’, मेयर राईले भने, ‘रोगको भन्दा भोकको चिन्ताले गर्दा हामी अग्रसर भएर आफ्ना नगरवासीलाई बचाउन सो कदम चालेका हौ।’

काठमाडौंबाट आएकालाई २ हप्तासम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको वडा नम्बर ८ का वडा अध्यक्ष नन्दकुमार चापाँगाईले जानकारी दिए।

मेयर रबिन राईको संयोजकत्वमा काठमाडौंबाट स्थानीयलाई ल्याउन समन्वय समिति बनाइएको थियो।

हेल्थ डेक्समा स्क्रिनिङ गरेर, फारम भर्न लगाएर मात्र घर पठाइएको चाँपागाईको भनाई छ ।

माहामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण देश लकडाउनमा छ। सरकारले महामारी नियन्त्रण गर्न तथा यसबाट सुरक्षा अपनाउन लकडाउन घोषणा गरेको ३७ दिन भइसक्यो ।

चैत ११ गते रातिदेखि सुरू भएको लकडाउनसँगै उपत्यका बाहिरका लाखौं मजदुर, विद्यार्थी र सर्वसाधरण काठमाडौंमा नै बन्धक बनेका थिए। जागिर गरेर छाक टार्ने परिवारदेखि लिएर कोठा भाडामा बस्ने विद्यार्थीसमेत समस्यामा परेका थिए। राजधानीमा खान र बस्न सक्ने अवस्था नभएपछि लाखौं मजदुर तथा विद्यार्थी रातदिन पैदलबाटै आफ्नो घर जान बाध्य भएका थिए।

आफ्ना नागरिकहरूमा यी विविध समस्या देखेर सक्रियताका साथ ल्याउने काममा जुटेको वडा नम्बर १० का वडा अध्यक्ष टंक ढकालले बताए।

काठमाडौंबाट फर्किएका सोम घिमिरे भन्छन्, ‘लामो समय उपत्यकामा विभिन्न समस्या झेल्दै दिन काटेका हामी एक महिना पछि गाउँ घर फर्किन पायौं। फेसबुक र टिभीमा मजदुरहरु पैदलै घर फर्केको तस्बिर देखेपछि ढिलोचाँडो हाम्रो हालत पनि यस्तै होला भन्ने लागेको थियो। अहिले उक्त त्रासबाट मुक्त भएका छौं, धन्यवाद छ रतुवामाई नगरपालिकालाई।’

‘काठमाडौंमा अलपत्र परेका २२० सर्वसाधरणलाई ५ वटा बसको व्यवस्था गरी घर फकाईको नगरपालिकाले जनाएको छ।

उपत्यकाबाट आएकालाई १४ दिनसम्म अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने नगरपालिकाले बताएको छ।

यसैबीच मेयर राईले यसरी उद्धार गरेर ल्याउनु आफ्नो कर्तब्य रहेको भन्दै यस्तै समस्यामा परेको कोही हुनुहुन्छ भने नगरपालिकामा तत्कालै सम्पर्क गर्नसमेत अनुरोध गरेका छन्।

ढिलै भए पनि स्थानीय सरकारको सहयोगमा घर आउन पाउँदा स्थानीय खुसी छन्,  पिठ्युँमा बच्चा बोकेकी एक महिला भन्दै थिइन्, ‘गाउँ आउन पाइयो यसैमा खुशी छु। अब त साग र भात मात्रै खाएर भए पनि बाचिँने आत्मबल जागेको छ। बिना खर्चमा सजिलोसँग आउन पाइयो यसमा झन् खुसी छु।’

जनतालाई समस्या परेको महसुस गरेपछि हामीले कुनै यात्रुको पनि भाडा नलिने निर्णयका साथ गाडी धनी र चालकसँग समन्वय गरेर काठमाडौं पठाएका थियौं र त्यही अनुसार रतुवामाईका नागरिक आफ्नो घर फर्किएको मेयर राईले बताए ।

मेयर राई भन्छन्, ‘आफ्ना जनताको करबाट सञ्चालन भएको सरकारले अप्ठ्यारो परेको समयमा निःशुल्क घर ल्याउने सेवा गर्न पाउँदा हामीलाई खुसी लागेको छ। सम्पूर्ण रतुवाईवासी आफैंले तिरेको करको पैसाले घर आए त्यसैले यो खर्च गाडीलाई नगरपालिकाले दिन्छ। यस कार्यमा जनप्रतिनिधिको भूमिका भनेको सम्पर्क गरेर आफ्ना नागरिक ल्याउने मात्र हो।’

वडा अध्यक्ष इन्द्रबहादुर चोङ्बाङले काठमाडौंमा बाँकी रहेका आफ्नो वडाका नागरिकलाई उनीहरु बसिरहेको घरमा नै राहत स्वरुप खाद्यान्न पठाउने तयारी भईरहेको र त्यहाँ रहेका रतुवामाईका संघ संस्थाले पनि पहल गरिरहेको जानकारी दिए।

काठमाडौंबाट रतुवामाई फर्किकालाई घर पुर्‍याउने काममा सहयोगका लागि रतुवाईका मेयर रबिन राई, उपमेयर दयन्तादेवी चुडाल, इलाका प्रहरी कार्यालय सिजुवाका प्रमुख मोहन रायमाझी, वडा अध्यक्ष गोपी चाँपागाई, इन्द्रबहादुर चोङबाङ, टंक ढकाल, वडा सदस्य काजन ढकाल, स्थानीय युवा सुजित जैसवाल लगायत जनप्रतिनिधि, प्रहरी प्रशासन, स्थानीयको सहभागिता थियो।

प्रकाशित मिति: : 2020-04-29 09:22:20

प्रतिकृया दिनुहोस्