लकडाउनमा महिला हिंसा, न्याय कहाँ? (अडियो कुरासहित)

यदि ६ महिना लकडाउन भएमा विश्वभरका ३१ मिलियन मानिस घरेलु हिंसाको शिकार हुने तथ्य संयुक्त राष्ट्र संघले बाहिर ल्याएको छ।

चीनको हवाईमा लकडाउनपछि ३ गुणा बढी घरेलु हिंसा भएको रिपोर्ट प्रहरीमा परेपछि यो तथ्य बाहिर आएको हो।

फ्रान्समा लकडाउनमा घरेलु हिंसा ३२ प्रतिशतले बृद्धि भएको छ भने राजधानी पेरिसमा मात्र ३६ प्रतिशतले वृद्धि भएको छ।

साइप्रसमा यस्ता उजुरी ३० प्रतिशतले बढेका छन्। अमेरिकामा दैनिक २ हजार घरेलु हिंसाका उजुरी फोन मार्फत आइरहेका छन्। जसमध्ये ९ सय ५० घटना कोरोना भाइरस संक्रमणपछि आएको दी गार्जियनले लेखेको छ ।

युरोन्यूजका अनुसार युरोपमा उच्च दरमा घरेलु हिंसा हुने फ्रान्समा वर्षेनी करिब २ लाख १९ हजार जना १८ देखि ७५ वर्षभित्रका महिला आफ्नो पति वा पूर्वपतिबाट शारीरिक वा यौनिक हिंसामा पर्छन्। तर, जम्मा २० प्रतिशतले मात्रै उजुरी गर्छन्।

फ्रान्समा हरेक तीन दिनमा एक जना महिलाको पति वा पूर्वपतिबाट हत्या हुने गरेको तथ्यांकसमेत सार्वजनिक भएको छ। हजारौं मानिसले ज्यान गुमाएको र लाखभन्दा बढी मानिस आक्रान्त भएका फ्रान्स, जर्मनीलगायतका मुलुकमा यो बीचमा घटेका घरेलु हिंसाको तथ्यांक सार्वजनिक हुँदा त्यो कहालीलाग्दो हुने निश्चित छ।

स्पेनमा घरेलु हिंसाबारे उजुरी दिने सरकारी हेल्पलाइनमा आएका उजुरी संख्या झण्डै तीन सय प्रतिशतले बढेको छ भने सम्बन्ध बिच्छेदका मुद्दा ३० देखि ४० प्रतिशतले बढेको छ ।

हाम्रै छिमेकी मुलुक भारतमा राष्ट्रिय महिला आयोगको तथ्यांकअनुसार लकडाउन शुरु भएको एक हप्तामै इमेलबाट २ सय ९१ वटा उजुरी परेका थिए। यस्तो उजुरी फेब्रुअरी महिनाभर जम्मा २ सय ७० वटा थियो। मार्च पहिलो साता १ सय मात्र उजुरी परेकोमा अन्तिम साता २ सय ६० उजुरी परेको थियो।

नेपालको सन्दर्भमा कुरा गर्दा राष्ट्रिय महिला आयोगको हटलाईन ११४५ मा लकडाउन भएदेखि हालसम्म २ सय ४८ वटा हिंसा दर्ता भएका छन्। जसमा १ सय ७८ वटा घरेलु हिंसाका घटना छन् भने ७० वटा महिलामाथि भएको हिंसाको घटना छ।

लकडाउनको समयमा ८६ वटा बलात्कारको प्रयासका घटना बाहिर आएका छन् भने सोहि अवधिमा  ३ सय ११ जनाले आत्महत्या गरेको समाचार बाहिर आएको छ। नेपाल प्रहरीमा परेको हिंसाका घटनामा ४० प्रतिशत् लैगिंक हिंसाका घटना छन्। जसमा ९० प्रतिशत् घरेलुहिंसा आफ्नै श्रीमानबाट खेप्न बाध्य छन्।

लैङ्गिक हिंसा अहिले पनि एउटा विश्वव्यापी महामारी हो । यो कुनै पनि किसिमको विपदका समयमा झनै गम्भीर रुपमा प्रकट हुने गर्छ।

नेपालमा पनि लकडाउनका बेला यस्तै घटना यसै महिनामा घटेका छन् । घरेलु हिंसाबाट दुई महिलाको मृत्यु भएको छ भने धेरै जना घरेलु हिंसा र यौन दुव्र्यवहारको शिकार भएका छन्।

केहि दिन अगाडि विरंगजमा लकडाउनको समयमा ९ वर्षिया छोरीले काँईयो किनिदेउ भनि वुवालाई आग्रह गरिन्। अहिले लकडाउन छ पसल बन्द छ भन्दन समेत छोरीले नमाने र एकोहोरो लागेपछि उनले रिसको झोकमा छोरीको घाँटी थिचिदिए, अन्त्यमा छोरीको मृत्यु भयो।

सिराहामा श्रीमान विदेशमा भएको अवस्थामा सासु र देउरानी मिलेर एक महिलाको हत्या गरे।

काठमाडौंमा केही दिन अगाडि डेरामा बस्ने एक जना किशोरीलाई घरबेटीले पटक पटक बलात्कार गर्ने प्रयास गरे। लकडाउनको समयमा विभिन्न डर त्रास र धम्की देखाई उनले ती युवतीलाई बलात्कारको प्रयास गरेका हुन्।

आफ्नो सुरक्षाको लागि उनले माईती नेपालको हेल्पडेस्कमा फोन सम्पर्क गरिन्। माईती नेपालले प्रहरीमा उजुरी गरेपछि अहिले ती घरबेटी प्रहरी नियन्त्रणमा छन्। केही दिन अगाडि भक्तपुरमा लकडाउनको समयमा एक किशोरी आफ्नै दाइबाट बलात्कृत भइन्।

केही दिन अगाडि एक गर्भवति महिलालाई आपसी झगडा भएपछि श्रीमानले डेरामा छाडेर हिँडेका छन्। नेपालमा लकडाउनको समयमा भएको लैगिंक हिंसाको प्रतिनिधि घटना मात्र हुन्। समाचारमा बाहिर नआएका र तथ्याङ्कमा नसमेटिएका घटना नेपालमा धेरै छन् ।

घरेलु हिंसा मूलतः घरभित्र हुन्छ। कोरोनाबाट बच्न घरभित्र बस्नु सबैभन्दा ठूलो उपचार ठानिएको छ। विश्वका अधिकांश मुलुक लकडाउनमा छन्। सर्वसाधारणलाई घरभित्रै बस्न भनिएको छ।

पुरूषले कमाउने, महिलाले पुरूषको सेवा गर्ने र बच्चाबच्चीको रेखदेख गर्ने र त्यही अर्थमा घर चलाउने भन्ने हाम्रो र हाम्रोजस्तै सामाजिक सोँच संरचना भएका विश्वका सबैजसो मुलुकमा घरको कथित मुखिया पुरुष बाध्यताबस घरमा बस्नुपर्दाको अवस्थामा महिलामाथिको हिंसा झनै बढ्ने कुरा स्वतः अनुमान गर्न सकिन्छ ।

हुन त लैंगिक वा घरेलु हिंसाले पुरूषबाट महिला वा महिलाबाट पुरूष उपर हुने दुबै प्रकारका हिंसालाई बुझाउँछ । तर, घरभित्रको शक्ति संरचनामा जो हाबी छ‚ उसले नै हिंसा गर्ने सम्भावना बढी हुन्छ। त्यसैले पनि यो सन्दर्भमा पनि घरेलु हिंसा भन्नाले महिलाउपर हिंसा नै गम्भीर हो। माथिका प्रतिनिधि तीन वटै घटना महिलामाथि भएका घटनासँगै सम्बन्धित छन्।

माईती नेपालका कानुनी संयोजक उमा तामाङले कोरोना भाईरस महामारीको कारण भएको बन्दाबन्दीले नेपालमा घरेलुहिंसाका घटना बढ्दै गएको बताइन्।

उनले फौजदारी मुद्दाको थुनछेकको लागि अदालत खुला गरिएकोले बलात्कार तथा हिंसाका घटनामा पीडितले न्याय पाउन सक्ने भए पनि लकडाउनको कारण हिंसाको उजुरी गर्न सहज भने नभएको बताइन्।

माईती नेपालले हिंसाको जोखिममा रहेका महिलाका लागि उजुरी दिन  व्यवस्था गरेको हटलाईनबाट धेरै महिलाले आफू हिंसाको जोखिममा रहेको बताएका छन्।

विकसित मुलुकहरू अझ सामाजिक सुरक्षाका दृष्टिले राम्रो प्रबन्ध भएका मुलुकमा घरेलु हिंसामा उजुर गर्ने र त्यसलाई दण्डित गर्ने कुरामा बढी प्रभावकारी प्रबन्ध रहेका छन् ।

फ्रान्समा, कोही महिलाले घरेलु हिंसामा परेको उजुरी दिएमा र घरमा बस्न नसक्ने अवस्था भए होटेलमा बस्ने व्यबस्था गरिने र उक्त खर्च सरकारले व्यहोर्ने भएको छ।

यसरी घरेलु हिंसाविरूद्ध गरिने खर्चमा ११ लाख डलर खर्च थप गरिएको छ।

स्पेनमा पहिलेदेखि नै यस्तो व्यवस्था थियो भने जर्मनीमा पनि ‘सेफ हाउस’ को व्यवस्था गरिएको छ। इटालीमा त घरेलु हिंसा गर्ने ब्यक्तिले घर नै छोड्नुपर्ने व्यवस्था छ।

धेरै देशले क्वारेन्टाइन र लकडाउनको विशेष परिस्थितिमा घरेलु हिंसालाई रोक्न विशेष कानुनी व्यवस्था समेत गरेका छन्। बेलायतमा विशेष प्रहरीको व्यवस्था गरिएको छ भने यस्ता उजुरी र अदालती प्रक्रियामा लाग्ने शुल्क छुट गरिएको छ।

भारतको उत्तर प्रदेश सरकारले ‘कोरोनालाई दवाऔं, आवाजलाई होइन’ नारासहित विशेष हेल्पलाइन शुरु गरेको छ। यसको सुनुवाइ पनि महिला प्रहरी अधिकृतले गर्ने व्यवस्था गरिएको छ।

ओएचसीएचआरको घरेलु हिंसासम्बन्धी एउटा अध्ययनले शारीरिक वा यौन हिंसा खेप्ने मध्ये ६६ प्रतिशत महिलाले सहयोगको खोजी नगरेको देखाएपछि नेपालमा घरेलु तथा लैङ्गिक हिंसा नियन्त्रणको क्षेत्रमा उच्च दण्डहीनता रहेको निश्कर्ष निकालेको थियो ।

नेपालमा लकडाउनको अवस्थामा एक त घरबाट बाहिर निस्कनै नपाउने र बाहिर निस्के पनि सम्बन्धित निकायमा यो विषयले प्राथमिकता नपाउने कारण अहिले उजूरी नपरेका हुन सक्छन्।

नेपालमा सरकारले क्वारेन्टाइन वा लकडाउनका अवस्थामा महिलामाथि हुनसक्ने हिंसाको विषयलाई  सम्वोधन गर्न छुट्टै नीतिगत वा संरचनात्मक व्यवस्था गर्न सकेको छैन।

कोरोनाको जोखिमले निम्त्याएको लकडाउनको परिस्थितिमा जोखिममा रहेका महिला, बालबालिका वा ज्येष्ठ नागरिकसहितलाई लक्षित गरी प्रहरीले अनलाइनबाट पनि उजुरी गर्न सक्ने व्यवस्था मिलाएको छ।

प्रहरीको यो कदम शहरी क्षेत्रमा प्रभावकारी हुनसक्ने देखिए पनि ग्रामिण क्षेत्रमा भने प्रभावकारी हुन सक्दैन।

राष्ट्रिय महिला आयोगको हटलाइन ११४५ मा महिला हिंसा सम्बन्धी उजुरी गर्न सक्ने व्यवस्था छ। तर, त्यो केन्द्रमा मात्र सिमित छ।

यो कोरोना महामारीले हाम्रो विद्यमान महामारी घरेलु हिंसालाई जसरी थप भयावह बनाउँदैछ। यसको समाधानको लागि आवश्यक कदम बेलैमा चालिएन भने भोलि यो कोरोना महामारीबाट त मुक्ति पाउँला, तर यसले समाजमा छोडेर जाने भयाभह सामाजिक प्रभाव अकल्पनीय हुनेछ।

प्रकाशित मिति: : 2020-05-10 18:00:00

प्रतिकृया दिनुहोस्