विदेश र बाहिरी जिल्लाबाट आएकालाई घरमा प्रवेश नदिन घरधनीहरुलाई उर्दी

फाइल तस्बिर

ललितपुर महानगरपालिका–६ ले घरधनीहरुलाई विदेशबाट फर्किका र बाहिर जिल्लाबाट आएकालाई घरमा प्रवेश नदिन निर्देशन जारी गरेको छ।

 वडा अध्यक्ष हिटलर शाक्यले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । उनले घरधनीहरुलाई कोठा भाडामा लिएर विदेश वा जिल्लाबाट आएकालाई अर्को सूचना जारी नभएसम्म तत्काल सम्पर्क गरी आफ्नो घरमा प्रवेश गर्न नदिने जानकारी गराउन उर्दी जारी गरेका छन्।

यदि कसैले जिल्ला र विदेशबाट आएका व्यक्तिलाई प्रवेश दिएमा त्यस्ता घरलाई शिल गरिने चेतावनी दिएका छन्। त्यस्ता व्यक्तिलाई क्वारेन्टाइनमा राख्दा लाग्ने खर्च र संक्रमति भएमा सबै क्षतिपूर्ति घर धनीले नै व्यहोर्नुपर्ने वडा कार्यालयले निकालेको सूचनामा उल्लेख छ।

त्यस्तै, वडाभित्रका टोल सुधार समिति, संघ संस्थाहरुलाई आ–आफ्नो टोलभित्र बाहिरी मानिसहरुको आवतजावतलाई रोक्न, टोलभित्र फलफूल, तरकारी तथा अन्य खाद्य पसलहरु तोकिएको समयमा मात्र सामाजिक दुरी कायम गरी सञ्चालन गराउन तथा संक्रमण अझै बढ्दै गएमा र आवश्यक परेको खण्डमा आ–आफ्नो टोलहरुलाई शिल गर्न अनुरोध गरिएको छ ।

बुधबार भक्तपुरको मध्यपुर नगरपालिकाले पनि कोठा भाडामा बस्ने व्यक्तिलाई प्रवेश नदिन आग्रह गरेको थियो।

प्रकाशित मिति: : 2020-05-14 14:07:19

प्रतिकृया दिनुहोस्