जोखिममा कर्णाली, सुर्खेतमा थपिए १२ संक्रमित

कर्णालीमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमित सबै सुर्खेतका रहेका छन्। 

मंगलबार पुष्टि भएकामध्ये १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिका रहेका कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले बताए। 

उनका अनुसार थपिएकाहरुमा वीरेन्द्रनगर १ का १६ वर्षिय पुरुष, २ र ३  का ९,२०,३२ र ३६ वर्षका पुरुष र एक ३२ वर्षकी महिला रहेकी छिन्। यता वीरेन्द्रनगर ३ का एक २६ वर्षिय पुरुषकाे रिपाेर्ट पनि पाेजिटिभ आएकाे छ।

भेरीगंगा ८ का १६, १७ वर्षका पुरुषमा काेराेना पुष्टि भएकाे खड्काले बताए। उनका अनुसार सिम्ता ४ का ३५ र ४९ वर्षका पुरुषमा पनि काेराेनाकाे संक्रमण देखिएकाे छ।

उनका अनुसार बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको ‘र्‍यान्डम्ली’ लिइएका स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको हो। 

कोरोना संक्रमितको संख्या बढेसँगै कर्णालीमा जोखिम बढेको छ। जोखिम कम गर्न प्रदेश सरकारले भारतबाट आउने नेपालीलाई सीमावर्ती क्षेत्रमै परीक्षण गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन सरकार र केन्द्रीय विपद् व्यवस्थापन समितिलाई आग्रह गरेको छ।

भारत सरकारले सीमासम्म पुग्न सहज बनाइदिए करिब २५ हजार कर्णालीबासी घर फर्किने अनुमान प्रदेश सरकारको छ।

यसले कर्णालीको अवस्था भयावह हुन सक्ने डा. खड्काले बताए। उनले समयमै बोर्डरमा क्वारेन्टाइनको जिम्मा नेपाली सेनालाई दिन नेपाल सरकारलाई आग्रह गरे।

अब कर्णालीमा कुल संक्रमित संख्या २३ जना भएको छ।
 

प्रकाशित मिति: : 2020-05-26 08:43:36

प्रतिकृया दिनुहोस्