नेकपाको निष्कर्ष: एमसीसी सम्झौता अनुमोदन गर्ने/नगर्ने निर्णय संसदलाई

बिएल संवाददाता

काठमाडाै‌ं

आफ्नो पार्टीभित्र लामो समयदेखि पेचिलो बनेको अमेरिकी सहयोग मिलियिनयम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गर्ने/नगर्ने निर्णय संसदले गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनाएकाे छ। 

शनिबार बालुवाटारमा अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेकपा स्थायी कमिटी सदस्य भीम रावल सम्मिलित नेकपा सचिवालय बैठकले उक्त निर्णय गरेको हो।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसी संसदमा विचाराधीन रहेको भन्दै त्यसको छिनोफानो संसदबाटै हुने बताए।

उनले संसदबाट पारित भएको अवस्थामा मात्रै सो विषय कार्यान्वयन हुने बताए। यसअघि नै प्रधानमन्त्रीले एमसीसी पारित हुने आशय व्यक्त गरेका थिए भने संसदमा निणयार्थ पेस भएपछि जे निर्णय आउँछ सोही आधारमा सरकार अघि बढ्ने बताएका थिए। 

गत केन्द्रीय समिति बैठकमा नेकपाभित्र एमसीसीबारे चर्को विरोध भएपछि एमसीसीबारे अध्यन गर्न कार्यदल गठन भएको थियो। 

सो कार्यददले एमसीसीसँग सम्बन्धित ११ वटा बुँदाहरू सच्याउन सुझाव दिएको थियो। यस्तै नेपालको राष्ट्रिय सुरक्षाका विषयहरूलाई गम्भीर रूपमा सम्बोधन गर्न संशोधनको आवश्यकता रहेको पनि ठहर गरिएको थियो। 

तर सो कार्यदलको सुझाव र पार्टीभित्र विवाद नै जारी रहेको अवस्थामा सरकारले बजेटमै एमसीसी घुसाएको छ। 

अमेरिका अन्तर्गतको अनुदान सूचीमा यसमा ५ अर्ब ७२ करोड रुपैयाँ एमसीसी शीर्षकमा राखिएको छ।

प्रकाशित मिति: : 2020-05-30 13:08:21

प्रतिकृया दिनुहोस्