१२ दिन लकडाउन थप्ने सरकारको निर्णय, विमानस्थल असार १६ गतेसम्म बन्द

सरकारले जारी लकडाउनलाई १२ दिन थप गर्दै जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बिएल नेपाली सेवालाई जानकारी दिए।

सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुँदै थियो। पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले सातौ पटक लकडाउन थप्ने निर्णय गरेको हो।

यस्तै असार १६ गतेसम्म विमानस्थल बन्द गर्ने निर्णयसमेत सरकारले गरेको छ।

यस्तै सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजनासमेत स्वीकृत गरेको ती मन्त्रीले जानकारी दिए। सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरू रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको हो।

त्यसरी विदेशबाट नेपाल ल्याएकालाई काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना सरकाले बनाएको छ।

प्रकाशित मिति: : 2020-05-30 21:15:48

प्रतिकृया दिनुहोस्