सोमबार एकै दिन २७४ जनामा कोरोना पुष्टि, कुल संक्रमित १८४५ पुग्यो

सोमबार नेपालमा एकैदिन २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कञ्चनपुरका ११ महिने बालिकासहित मुलुकभरका विभिन्न प्रयोगशालामा गरेको परीक्षणमा २ सय ७४ जनामा कोरोना पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ८ सय ४५ पुगेको  छ। उनीहरुमध्ये १७१२ जना पुरुष र १३४ जना महिला छन्।

सोमबार थप पुष्टि भएकाहरू २७४

स्वास्थ्य मन्त्रालयका अनुसार विराटनगरस्थित कोशी अस्पतालमा भएको परीक्षणमा झापाका २ जनामा पोजेटिभ देखिएको छ।

पोखरामा भएको परीक्षणमा नवलपरासी पूर्वकाका ३ जनामा पुष्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा पोजेटिभ देखिएको छ। जसमा दैलेखका २४ र जुम्लाका १९ जना रहेका छन् ।

सुर्खेतमा भएको परीक्षणमा दैलेखका २६, सल्यानका १९, सुर्खेतका २१ र अछामा १ गरी ६७ जनामा पोजेटिभ देखिएको छ।

यस्तै धुलिखेलमा परीक्षणमा कलिवस्तुका २, रौतहटका १८ जना गरि २० जनामा पोजेटिभ देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९२ जनाको पोजेटिभ देखिएको छ। जसमा धनुषाका ७, कपिलवस्तुका ३८, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिराहाका ५ र उदयपुरका १ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १८ जनामा पोजेटिभ देखिएको छ। जसमा कैलाली १४ तथा अछाम, बैतडी, डोटी र कञ्चनपपुरमा १-१ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङका ९ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रूपन्देहीमा भएको परीक्षणमा कपिलबस्तुका ७, पाल्पा र रूपन्देहीका २-२ नवलपरासी र गुल्मीका १-१ जनासहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अहिलेसम्म प्रदेश नम्बर १ मा १ सय ६८, प्रदेश नम्बर २ मा ६ सय ९४, बागमती प्रदेशमा ४६ र गण्डकी प्रदेशमा २६ जना, प्रदेश नम्बर ५ मा ६ सय ३४, कर्णाली प्रदेशमा २ सय ३३ र सुदूरपश्चिम प्रदेशमा ३७ जना गरी १ हजार ८ सय ४५ जना संक्रमित भएका छन्।

२२१ डिस्चार्ज

देशभरीका विभिन्न अस्पतालमा उपचाररत २ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन्। जम्मा संक्रमितमध्ये २२१ डिस्चार्ज जसमध्ये प्रदेश नम्बर १ मा ३०, प्रदेश नम्बर २ मा १ सय ४, बागमती प्रदेशमा २९ गण्डकी प्रदेशमा ३ जना, प्रदेश नम्बर ५ मा ४८ जना, कर्णाली प्रदेशमा ० र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी २ सय २१ जना उपचार सकेर घर फर्किएका छन्।

८ जनाको मृत्यु

देशभरी गरी १८४५ जना कोरोना संक्रमितमध्ये सोमबारसम्म ८ जनाले ज्यान गुमाएका छन्।

८. दैलेखका ३५ वर्षीय युवक छन्। दैलेखको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा ३५ वर्षीय पुरुषको (शनिवार) मृत्यु भएको थियो। उनी १० दिन अघि मात्र भारतबाट फर्किएका थिए। क्वारेन्टाइनमा एक्कासी ढलेर मृत्यु भएका उनको जेठ १५ गते कोरोना परीक्षणको लागि स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा कोरोना पुष्टि भएको थियो।

७. बाजुराकी २ वर्षीया बालिकाको शनिबार राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो। उनी बाबु आमासहित भारतबाट नेपाल आएकी थिइन्। उनलाई स्वास्थ्यमा समस्या आई जेठ १५ गते उपचारका लागि बाजुरा अस्पताल भर्ना भएकी थिइन् । मृतक बालिका बाजुराको बुढीगंगा नगरपालिका–१ की हुन्।

६. अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षिय पुरूषको कोरोना संक्रणबाट मृत्यु भएको थियो। उनको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको थियो।  गत जेठ १० गते भारतबाट आएका ती पुरुषको नमुना संकलन गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

५. कोरोना भाइरस संक्रमणका कारण बुधबार ललितपुरको बुंगमतीका ५७ वर्षीय पुरूषको मृत्यु भएको थियो। मृत्यु भएका व्यक्ति कलेजोका बिरामी थिए। उनी जेठ ११ गते अस्पताल भर्ना भएका हुन्। उनको स्वाब यही जेठ १२ गते परीक्षणका लागि पठाइएको थियो। उक्त परीक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको हो।

४. वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका-७ एक वृद्धलाई कोरोनाभाइरस पोजेटिभ देखिएको थियो। ७० वर्षीय ती वृद्ध मिर्गौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए। नारायणी अस्पतालमा ती वृद्धको स्वाब जाँच्दा कोरोना पोजेटिभ आएको थियो।

३. गुल्मीका ४१ वर्षिय पुरूषको निधन कोरोना संक्रमणबाट भएको थियो। जेठ ५ गते सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए।

२. बाँके नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। जेठ ४ गते मृत्यु भएका उनी वैशाख ३० गते भारतबाट नेपाल आएका थिए।

क्वारेन्टाइनमा बस्ने क्रममा स्वास प्रश्वासमा समस्या भएको थियो। उनको आइतबार विहान ६:४० बजे मृत्यु भएको थियो। मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो।

१.  सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु नेपालमा पहिलो कोरोना संक्रमित मृत्यु हो। सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

१६१६ आइसोलेसनमा

देशभरी गरी १८४५ जना कोरोना संक्रमितमध्ये २२१ जना डिस्चार्ज र ८ जनाको मृत्यु भएसँगै १६१६ जना आइसोलेसनमा रहेर उपचार गराइरहेका छन्।

जसमध्ये प्रदेश नम्बर १ मा १३८, प्रदेश नम्बर २ मा ५ सय ८९, बागमती प्रदेशमा १५ गण्डकी प्रदेशमा २३ जना, प्रदेश नम्बर ५ मा ५ सय ८३ जना, कर्णाली प्रदेशमा २३२ र सुदूरपश्चिम प्रदेशमा ३७ जना गरी १ हजार ६ सय १६ जना उपचाररत छन्।

१८५६७३ परीक्षण

नेपालमा सोमबार रातिसमम्म १ लाख ८५ हजार ६ सय ७३ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमध्ये पीसीआर विधिबाट ७१ हजार ९ सय १६ र आरडिटी विधिबाट १ लाख १३ हजार ७ सय ५७ जनाको नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ३ सय १० र आरडिटी २ हजार ६ सय ४८ जनाको नमुना परीक्षण भएको छ।

प्रकाशित मिति: : 2020-06-02 01:08:29

प्रतिकृया दिनुहोस्