प्रदेश नं ५ : कोरोना संक्रमित बढ्दो, व्यवस्थापनमा समस्या

रोजगारीका क्रममा भारत गएका नेपालीहरु ठूलो सङ्ख्यामा घर फर्किन थालेपछि प्रदेश नं ५ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सङ्ख्या ह्वात्तै बढेको छ। बन्दाबन्दीका कारण अलपत्र पर्ने अवस्था आएपछि भारतबाट दिनदिनै ठूलो सङ्ख्यामा नेपाली स्वेदश फर्किन थालेका छन्। उनीहरुलाई क्वारेन्टाइन व्यवस्था गरेर राख्ने, कोरोना भाइरसको परीक्षण गर्ने र संक्रमित भए उपचार गर्ने काममा प्रदेश र स्थानीय सरकार सक्रियतापूर्वक लागिपरेका छन्। तर एकैपटक ठूलो सङ्ख्यामा नागरिक स्वदेश फर्किएपछि भने व्यवस्थापनमा समस्या आएको छ। यसका कारण यहाँका क्वारेन्टाइन पनि भद्रगोल देखिएका छन्।    

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशङ्करप्रसाद चौधरीले सोमबार साँझसम्ममा यस प्रदेशका संक्रमितको सङख्या ६४२ पुगेको जानकारी दिए। अहिलेसम्म बाँके, गुल्मी र अर्घाखाँचीमा एक÷एक गरी तीनजनाको मृत्यु भएको छ। प्रमुख चौधरीका अनुसार प्रदेशका १२ जिल्लामध्ये १० जिल्लामा संक्रमण पुष्टि भएको छ। प्यूठान र रोल्पामा अहिलेसम्म कोरोना संक्रमण भेटिएको छैन। सबैभन्दा बढी कपिलवस्तुमा ३१७ जनामा कोरोना देखिएको छ। त्यसपछि बाँकेमा संक्रमण बढी छ।  

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा १९६ जनामा संक्रमण देखिएको छ। गत वैशाख १९ गते पहिलोपटक नेपालगञ्जमा कोरोना संक्रमण देखिएको थियो। नेपालगञ्जबाट शुरु भएको संक्रमणको क्रम नरैनापुर, खजुरा, राप्तीसोनारी, डुडुवा हुँदै वैजनाथ गाउँपालिकासम्म फैलिएको छ। नरैनापुर गाउँपालिका कोरोना संक्रमणको अहिलेसम्मको प्रमुख केन्द्र नै बन्न पुगेको छ। संक्रमणका कारण नरैनापुरमा एकजनाको ज्यान नै गएको छ।
    
स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत मनबहादुर वलीका अनुसार रुपन्देहीमा अहिलेसम्म ५२ जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै दाङमा ४५, बर्दियामा १०, नवलपरासीमा ६, गुल्मीमा पाँच, अर्घाखाँचीमा तीन, पाल्पामा पाँच र रुकुम पूर्वमा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको वलीले बताए। 

निको भएर घर फर्किने ७५ जना 

प्रदेशमा कोरोना संक्रमण बढेको मात्र नभई निको हुुनेको सङ्ख्या पनि बढ्दो छ। अहिलेसम्म प्रदेशका विभिन्न अस्पतालबाट ७५ जना निको भई घर फर्किएका छन्। सोमबारमात्रै रुपन्देहीको भीम अस्पतालबाट २५ जना कोरोना संक्रमित निको भएर घर फर्किए।

गैँडहवा गाउँपालिकाका १०, लुम्बिनी सांस्कृतिक नगरपालिकाका पाँच, सिद्धार्थनगर नगरपालिकाका एक, कपिलवस्तुका पाँच, नवलपरासीका तीन र भारतका एकजना अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले जानकारी दिए। 

सोमबार नै आइसोेलेशनमा रहेका गुल्मी मदानेका बैंकमा कार्यरत कर्मचारी निको भई आज घर फर्किए। पुर्कोटदहमा कृषि विकास बैंकमा कार्यरत ३१ वर्षीय युवक कोरानो मुक्त भई घर फर्किएको गुल्मी अस्पतालका चिकित्सक उत्तम पाच्यले जानकारी दिए। यस्तै दाङको बेलझुण्डी आइसोलेशन सेन्टरबाट आठ र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २६ जना डिस्चार्ज भएका छन्। यसअघि बुटवल अस्पतालबाट १५ जना कोरोना जितेर फर्किएका थिए।

चार सय ९५ जना उपचाररत  

प्रदेशका विभिन्न अस्पतालमा हाल ४९५ जना संक्रमित उपचाररत छन्। जसमध्ये बुटवलको कोरोना विशेष अस्पतालमा ३१ जना र एन्फा एकेडेमीमा २० जनाको उपचार भइरहेको स्वास्थ्य महाशाखा प्रमुख चौधरीले बताए। उनका अनुसार दाङको बेलझुण्डी आइसोलेशन सेन्टरमा ५१ जना उपचाररत छन्। बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भर्ना भएका ४४ जनामध्ये १८ जना उपचाररत छन्। बाँकेका लायन्स डेन्टल अस्पतालमा २३, पिपरी आइसोलेशन केन्द्रमा ४१, कृषि तालिम केन्द्रको आइसोलेशन सेन्टरमा ३९, नेपाल राष्ट्रिय मावि राप्ति सोनारीमा ११, सतगुर्वा आइसोलेशन केन्द्रमा १८ र वैजनाथ आइसोलेशन सेन्टरमा सातजनाको उपचार भइरहेको छ।

यस्तै कपिलवस्तुका गणेशपुर आयुर्वेद औषधालय विजयनगरमा १७, बनकटहवा आइसोलेशन सेन्टरमा एक, मायादेवी आइसोलेशनमा ११, जानकी मावि महाराजगञ्जमा ४७, आइसा गल्र्स कलेज कृष्णनगरमा २७, अनिरुद्ध कलेज यशोधरामा ८८, सुपा देउराली रिसोर्ट चन्द्रौटामा चारजना र कृष्णनगरको एक होटलमा पाँचजना नेपाल प्रहरीका जवानको उपचार भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। कपिलवस्तु अस्पतालमा उपचारत एकजना भने डिस्चार्ज भएका छन्।

यसैगरी महिला विकास भवन तम्घासमा एकजना, युवावर्ष जनता रवि चित्र मावि अर्घाखाँचीमा दुईजना, शिक्षण अस्पताल काठमाडौँमा एकजना, टेकु सरुवा रोग अस्पतालमा दुईजना, धुलिखेल अस्पतालमा एकजना र गुल्मी धुर्कोटमा रहेको आइसोलेशन सेन्टरमा दुईजनाको उपचार भइरहेको छ। प्रदेशका विभिन्न क्वारेन्टाइनमा अझै पनि ९६ जना संक्रमित रहेका छन्। सोमबारमात्रै ६९ जनामा  संक्रमण देखिएको हो।  

क्वारेन्टाइन व्यवस्थापनमा समस्या 

कोरोना संक्रमण उच्च रहेको यस प्रदेशका क्वारेन्टाइन पनि भरिन थालेका छन्। भारतमा रोजगारी गर्न गएका व्यक्ति फर्कने क्रम बढेपछि प्रदेशका क्वारेन्टाइन भरिन थालेका हुन्। क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बढ्दै गएपछि यहाँका स्थानीय तहलाई व्यवस्थापनमा समस्या भएको छ। 

प्रदेशका १२ जिल्लामा एक हजार ४८७ क्वारेन्टाइन छन्। जसमा ४५ हजार ७४९ श्यया रहेका छन्। सोमबार साँझसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ३९ हजार २६८ छ। जिल्लागतरुपमा बाँकेमा तीन हजार ८९४, बर्दियामा ४६०, अर्घाखाँचीमा तीन हजार ९५०, कपिलवस्तुमा चार हजार ५३०, गुल्मीमा दुई हजार ९२४, रुपन्देही तीन हजार ३३४, पाल्पामा एक हजार २८८, नवलपरासी एक हजार ३७६, दाङमा चार हजार ८६८, रोल्पामा एक हजार ९९८, रुकुम पूर्वमा २८७ जना र सबैभन्दा बढी प्यूठानमा छ हजार ३५९ जना क्वारेन्टाइनमा बसेका छन्।   

प्रदेशमा धेरैजसो क्वारेन्टाइन विद्यालयमा बनाइएको छ। पहाडको तुलनामा तराईका सीमावर्ती क्षेत्रका क्वारेन्टाइनको व्यवस्थापन कमजोर छ। अत्यधिक गर्मीका कारण क्वारेन्टाइनमा बस्नेलाई समस्या भएको छ। समयमा कोरोना परीक्षणको व्यवस्था नहुँदा क्वारेन्टाइनमा बस्ने नागरिक रुष्ट बनेका छन्।  

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका, कोटहीमाई र सम्मरीमाई पालिका तथा कपिलवस्तुका र बाँकेका विभिन्न पालिकामा रहेका केही क्वारेन्टाइनको व्यवस्थापन फितलो भन्दै बस्नेले विरोधसमेत गरेका छन्। क्वारेन्टाइन व्यवस्थापन गर्न नसक्दा लुम्बिनी सांस्कृतिक नगरपालिकामा रुखमुनि नै रात  काट्न बाध्य भए। पछि जताततैबाट विरोध भएपछि उनीहरुलाई गत अमारी प्राविमा सारिएको थियो। क्वारेन्टाइन व्यवस्थित नहुँदा सबैभन्दा बढी महिला र बालबालिकालाई समस्या भएको छ।

रुपन्देहीका अन्य नगरपालिकाले भने क्वारेन्टाइन मापदण्डअनुसार नै निर्माण गरेको दाबी गरेका छन्। “सैनामैनाका क्वारेन्टाइन व्यवस्थापनमा कुनै समस्या छैन, १४ दिन नपुग्दै आरडिटी गर्न मिल्दैन तर परीक्षण छिटो गरिदिनुप¥यो भनेर केही गुनासा आएका हुन सक्छन्, अन्य समस्या छैन”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले भने। उनले मापदण्डअनुसार नै नगरमा पाँचवटा क्वारेन्टाइनमा खाना, आवास शौचालय र इन्टेरनेटको समेत व्यवस्था गरिएको बताए। क्वारेन्टाइनमा कुनै समस्या भए सिसीटिभीसमेत जडान भएकाले हेर्न सकिने उनको भनाइ थियो।

यसैक्रममा कपिलवस्तु नगरपालिका–४ स्थित सुन्दर प्राविको क्वारेन्टाइनबाट गत सोमबार साँझ ४३ जना भागेका थिए। दुई हप्ताअघि यशोधरा गाउँपालिका–८ खोरियाबाट २५ जना र वडा नं ६ रगपुरस्थित क्वारेन्टाइनबाट ११ जना भागेका थिए। पछि प्रहरीले उनीहरुलाई खोजेर ल्याएको थियो। भारतका विभिन्न शहरबाट लकडाउनका बेला घर फर्किनेक्रममा क्वारेन्टाइनमा रहेका ४३ जना सोमबार साँझ फरार भएका थिए। क्वारेन्टाइनमा बसेको १४ दिन भइसक्दा पनि परीक्षण नगरिएपछि आक्रोशित बनेर घर गएका उनीहरुलाई दुई दिनपछि पुनः क्वारेन्टाइनमा ल्याएर राखिएको थियो। 

क्वारेन्टाइनमा बस्नेले सामाजिक दूरी कायम नगर्दा संक्रमणको जोखिम बढेको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख चौधरीले बताए। उनले भने, “कोरोना संक्रमणबाट जोगिन सामाजिक दूरी कायम राख्न जरुरी हुन्छ तर क्वारेन्टाइनमै रहँदा पनि हेलचेक्र्याइँ गरिएको छ जसले संक्रमणको जोखिम बढेको छ।”  

परीक्षणको दायरा बढाउन जरुरी 

प्रदेशमा कोरोना संक्रमण बढ्दै गएकाले परीक्षणको दायरा बढाउन आवश्यक देखिएको छ। वैदेशिक रोजगारीमा जानेहरु धमाधम फर्किरहेका कारण क्वारेन्टाइन भरिभराउ हुँदासमेत परीक्षणलाई गति दिन नसक्दा संक्रमण जोखिम अझै बढेको सरोकारवाला बताउँछन्। 

क्वारेन्टाइनमा रहेका १५ हजार ५९१ जनाको मात्रै पिसिआर परीक्षण गरिएको छ। जसमध्ये ५६९ जनाको कोरोना संक्रमण पोजेटिभ देखिएको छ भने चार हजार ३९८ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमित क्षेत्रबाट आएकाको परीक्षण कार्यलाई निरन्तरता दिइएको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदकुमार गिरीले बताए। 

प्रदेश नं ५ मा २३ हजार ९६३ जनाको आरडिटी परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। जसमध्ये २२ हजार ५०१ वटा नेगेटिभ र एक हजार ४६२ पोजेटिभ रहेका छन्। ती पोजेटिभमध्ये बाँकेमा ११५, बर्दिया दुई, अर्घाखाँचीमा चार, कपिलवस्तुमा ९८१, गुल्मीमा चार, रुपन्देहीमा २९२, पाल्पा १४, नवलपरासी १७, दाङमा तीन, रोल्पामा एक, प्यूठानमा २९ जनाको आरडिटी परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ।

प्रदेशमा तीनवटा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँ गरी चारवटा प्रयोगशालाबाट कोभिड–१९ सङक्रमित भए÷नभएको निक्र्योल गर्ने गरिएको छ। प्रदेश नं ५ मा अहिलेसम्म १५ हजार ५९१ स्वाब सङ्कलन गरिएकामा १० हजार ६२४ जनामा नेगेटिभ देखिएको छ भने चार हजार ३९८ जनाको नतिजा आउने प्रक्रियामा रहेको स्वास्थ्य महाशाखाले जनाएको छ।

प्रकाशित मिति: : 2020-06-02 17:51:17

प्रतिकृया दिनुहोस्