जानकी गाउँपालिकाका ४० जनामा काेराेना पुष्टि, संक्रमितको संख्या २५५ पुग्यो

कोरोना भाइरस संक्रमणको ‘रेडजोन’को रुपमा रहेको बाँकेमा एकै दिन ४२ नयाँ सक्रमण पुष्टि भएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा गरी ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। 

ती मध्ये जानकी गाउँपालिकामा मात्रै ४० जना छन्। जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीका अनुसार केही दिनअघि ३ क्वारेन्टाइनबाट १ सय १३ जनाको स्वाब संकलन गरिएको थियो। 

जसमध्य  ४२ जनामा सक्रमण पुष्टि भएकाे उनले बताए। संक्रमितहरु सबै वडा नम्बर १ को साइगाउँ, बढैया र शिवपुरीको क्वारेन्टाइनमा बसिरहेकाे खत्रीले जानकारी दिए। जानकीको समेत गरी बाँके जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ५५ पुगेको पुगेको छ। 

उनका अनुसार बाँके जिल्लामा नरैनापुरमा १ सय १८, नेपालगञ्ज उपमहानगरपालिकामा ३३, राप्ती सोनारीमा २६ जना संक्रमित रहेका छन्।

यता डुडुवामा २५, बैैजनाथमा ८ र खजुरामा ५ मा कोरोना संक्रमित छन्। यसअघि बाँकेमा पहिलो पटक गत बैशाख १९ गते एक ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो। उनी कोरोनालाई जितेर घर फर्किसकेका छन्। 

कोहलपुर नगरपालिकाबाहेक सबै स्थानीय तहमा कोरोना संक्रमित फेला परेका छन्। 

नगरपालिकाका प्रमुख लुटबहादुर रावतका अनुसार कोहलपुरमा अहिलेसम्म पीसीआर प्रविधिबाट एक सय १५ जनाको कोरोना परीक्षण भइसकेको छ।  

प्रकाशित मिति: : 2020-06-04 18:20:31

प्रतिकृया दिनुहोस्