भावुक हुँदै विदा भए धनुषाका सहायक प्रजिअ पोखरेल

प्रदिपराज कँडेल धनुषाको प्रमुख जिल्ला अधिकारी बनेर आउनसाथ विचौलियाको अखडाको रुपमा चिनिएको जनकपुरस्थित जिल्ला प्रशासन कार्यालय परिसर भित्र विचौलिया प्रवेश नै निषेध गरिदिए। 

सधैँ दलाल र बिचौलियाहरूले भरिभराउ जिल्ला प्रशासन कार्यालय सेवाग्राहीमैत्री बनाउन पहल थालिहाले। महिला सेवाग्राहीलाई लक्षित गरेर सन्तानलाई दूध खुवाउनका लागि स्तनपान कक्षको समेत व्यवस्था गरे। 

अदालतको इजलासबाट माइकमा सेवाग्राहीलाई बोलाएजस्तै जिल्ला प्रशासन कार्यालयमा टोकनअनुसार नागरिकता, सिफारिस र राहदानीबारे सम्बन्धित फाँटले सेवाग्राहीलाई माइकमै बोलाएर सेवा दिन सुरु भयो। 

विद्युतीय टोकनबाट जिल्ला प्रशासनले सेवा आरम्भ गर्यो। कार्यालय परिसर चिरिच्याट् पारियो। सेवाग्राहीलाई नि:शुल्क वाईफाईको ब्यवस्था भयो।

प्रमुख जिल्ला अधिकारी कँणेलले कार्यालयको सेवा चुस्त दुरुस्त भए/नभएको सिसिटिभी क्यामराबाट प्रत्यक्ष निगरानी गरिरहेका हुन्थे।

प्रमुख जिल्ला अधिकारी कँणेलको सुधावादी अभियानमा प्रत्यक्ष जोडिएका थिए सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेल। योजना कँणेल बनाउँथे , कार्यान्वयन गर्न पोखरेल लाग्थे। यस कारण पनि धनुषामा दुबैको लोकप्रियता बढ्यो। दुबैको परिचय बन्यो सुधारवादी प्रशासक।
तिनै पोखरेलको सरुवा दार्चुला भएको छ। सरकारले उनलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारी बनाएर सरुवा गरेको हो।

मंगलबार पोखरेलको विदाई कार्यक्रममा सहभागी सबैजसो कर्मचारी भावुक देखिन्थे। धनुषाका हालका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला , जिल्लाका सुरक्षा प्रमुखहरु र अधिकृत सगंम धनुषाका पदाधिकारीहरुको उपस्थिती थियो। पोखरेललाई माला लगाएर वधाई दिएर विदाई गरियो।

शुभकामना दिँदै विदाई गरिरहँदा पोखरेल निकै भावुक देखिन्थे।

प्रकाशित मिति: : 2020-06-04 21:38:30

प्रतिकृया दिनुहोस्