कालापानी मार्चको स्मृतिमा जुम–मिटिङ, मार्चको नेतृत्व गर्ने पर्यटनमन्त्री भट्टराई पनि सहभागी 

२२ वर्षअघि काठमाडौंदेखि नेपाली भूमि मिचिएको क्षेत्र कालापानीसम्म गरिएको मार्चको स्मृतिमा ‘जुम–मिटिङ’ गरिएको छ । त्यसबेलाको मार्चका एकजना अभियन्ता नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेको पहलमा उक्त छलफल गरिएको हो । 

बैठकमा त्यसबेला ‘कालापानी मार्च’ को नेतृत्व गर्ने अनेरास्ववियूका तत्कालीन अध्यक्ष पर्यटनमन्त्री योगेश भट्टराईसहित मार्चमा सहभागी ३२ जना छलफलमा सहभागी भएका थिए । त्यसबाहेक अरुसमेत गरी ५० जनाबीच करिब पौने ३ घन्टा छलफल भएको थियो ।  

नेकपा एमालेबाट सहाना प्रधान, वामदेव गौतमको नेतृत्वमा विभाजित भई बनेको नेकपा मालेको भ्रातृ संगठन अनेरास्ववियूको आयोजनामा भएको उक्त मार्चमा ५७ जना सहभागी भएको छलफलको सञ्चालन गरिरहेका नेता गैरेले बताए । 

‘स्मृतिमा कालापानी मार्च ः आजको बहस’ नाम दिइएको उक्त छलफलमा सहभागी हुँदै उक्त मार्चको नेतृत्वकर्ता मन्त्री भट्टराई समेत सहभागी भएको मन्त्रिपरिषद् बैठकले जेठ  ५ गते लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्र समेटेर नयाँ नक्सा प्रकाशित गरेको थियो । 

‘अहिले भर्खरै सरकारले वास्तविक सिमाना सहितको नक्सा प्रकाशित गरेपछि कालापनीका मुद्दा फेरि चर्चामा आएको छ । नेकपा सरकारले यो ऐतिकासिक कामसंसारको ध्यानाकर्षण भएको छ’, भट्टराईले भने, ‘कुनै पनि छिमेकीसँग दुष्मनी लिन यो काम गरेको होइन, ती ठाउँ नेपालको हो भन्ने प्रमाणका आधारमा यो काम गरेको छ ।’

उनले त्यसबेलाका दार्चुलाका जनप्रतिनिधि प्रेमसिंह धामीलाई पनि सम्झेका थिए । उनले भने, ‘टनकपुर सन्धिविरुद्धको आन्दोलन मदन भण्डारीकै नेतृत्वमा हामीले गरका थियौँ । यसको स्थायी समाधानका लागि भारतसँग कूटनीतिक र अरु समाधान लिनुपर्छ । हामी कुनै पनि उत्तेजनामा आउनुहुँदैन । हामी कसैलाई दुष्मन मान्दैनौँ । प्रधानमन्त्रीले बार–बार भन्नुभएको छ– हामी कसैको एक इञ्च भूमि पनि लिँदैनौ, कसैलाई एक इञ्च भूमि पनि दिँदैनौँ । छिटोभन्दा छिटो यस विषयमा वार्ताको टेबलमा आउन भनेका छौँ । छिट्टै भारत सरकार वार्तामा बस्छ भन्ने विश्वास छ ।’

कार्यक्रममा नेता गैरेले अखिलको नेतृत्वमा सञ्चारकर्मीसहित ५७ जनाको टोली प्रस्थान गरेको बताएका थिए । उनले भने, ‘ २०५५ साल जे७ २२ गते त्यसतर्फ प्रस्थान गरेका थियौँ, जेठ ३० गते कालापानी पुगेका थियौँ । औपचारिक रुपमा त्यहाँ विरोध प्रदर्शन गरेर असार ५ गते काठमाडौं फर्केका थियौँ ।’ 

उनले नेपालको इतिहासमा अनेरास्ववियूले गरेको एउटा ऐतिहासिक युगान्तकारी महत्वको कार्यक्रम भएको बताउँदै भने, ‘जो आज आइपुग्दा अझै सान्दर्भिक र महत्वपूर्ण सावित भएको छ ।’

 

त्यसबेला मालेको भगिनी संगठन अनेरास्ववियूले कालापानी मात्र हैन, सीमा सुरक्षा अभियान, मातृभूमिको सन्देश सुस्ता बचाउ आन्दोलनजस्ता राष्ट्रियताको आन्दोलन गरेको उनले बताए । ‘त्यतिखेर प्रेमसिंह धामीले कालापानी काठमाडौंलाई दुख्नुपर्छ भनेर लेखेको लेख, संसद्मा गरेको भाषणले ल्याएको तरंगको स्मरणमा छ’, उनले भनेका थिए, ‘सुगौली सन्धिले सीमा निर्धारण गरेको थियो तर यो टनकपुर र महाकाली सन्धि हुँदा यथावत रहेको थियो ।’ 

गैरेले भने, ‘सरकारले लिम्पियाधुराको नदी काली नदी हो । त्यो पूर्वको भूभाग नेपाल हो भनेर सरकारले नयाँ नक्सा प्रकाशित गरेको छ । यसलाई समेटेर संविधान संशोधन हुन लागेको बेला हामीले गरेको काम युगीन महत्वको थियो भनेर गौरव गरेका छौँ ।’

उनले यसअघि संगठित भएर छलफल नगरेको भए पनि सरकारले नक्सा प्रकाशित गरेको सन्दर्भमा यो छलफल खुशीलाली स्वरुप ‘जुम मिटिङ’ गरेको पनि बताए । भने, ‘लकडाउन नभएको भए एकै ठाउँमा उपस्थित भएर विशेष कार्यक्रम गर्न सकिन्थ्यो ।’

छलफलमा सुरेन्द्र मानन्धर, नन्दु उप्रेती,थोमस वास्तोला, मणि दाहालसहित मार्चमा सहभागी ३२ जनाले छलफलमा भाग लिएको गैरेले जानकारी दिए ।  
 

प्रकाशित मिति: : 2020-06-04 23:53:55

प्रतिकृया दिनुहोस्