महोत्तरीमा नौलाख वृक्षरोपण गरिँदै

महोत्तरीमा करिब नौ लाख वृक्षरोपण गरिने भएको छ। यसवर्ष वृक्षरोपणका लागि करिव आठ लाख ८५ हजार बिरुवा तयार गरेको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ।  

जिल्लाका पाँच ठाउँलाई केन्द्र बनाइ बिरुवा उत्पादन गरिएको कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले बिहीबार जानकारी दिए। 

भूक्षय (भूस्खलन) रोक्न, घाँस–दाउराको आपूर्ति गर्न, काठ प्रयोजन र फलफूल उत्पादनसहितको लक्ष्यसहित विभिन्न जातका बिरुवा तयार गरिएको उनले बताए। 

उत्पादित बिरुवामा घाँस प्रयोजनका टाँकी, किम्बु, बकाइनो, काठ प्रयोजनका लागि टिक, जामुन, खयर, फलप्रयोजनका लागि कटहर, आँपसहितका रहेका छन्। 

 मागबमोजिम लगत (अभिलेख) तयार गरी एक लाख वितरण गरिएको उनले बताए। सर्वसाधारणले जग्गा देखाएर माग गरेपछि कार्यालयले बिरुवा निःशुल्क उपलब्ध गराउने गरेको छ। यसपालि वन क्षेत्रका नाङ्गा डाँडा, जिल्लाका स्थानीय तह र सर्वसाधारणले माग गरेबमोजिमको क्षेत्रमा रोपण गरिने सोे कार्यालयले जनाएको छ।

जिल्लाका जलेश्वर, माईस्थान, लक्ष्मीनियाँ, बेलगाछी खाल्टेबजार र बनराथारुटोलसहित छ ठाउँमा सो कार्यालयले बिरुवा उत्पादन गरेको छ।

नदी किनारका उकास जग्गा, सार्वजनिक जग्गा, गल्छीपहिरो र स–साना पहाडी शृङ्खलाका नाङ्गाडाँडामा कार्यालयले स्थानीय तह, सामुदायिक वन उपभोक्ता समिति र सामाजिक सङ्घसंस्थाको समेत समन्वय र सहभागितामा नयाँ वृक्षरोपण गर्ने जनाएको छ। 
  
'खाली जग्गा, सडक छेऊ र सार्वजनिक जग्गामा रोपौँ रुख, यसले ल्याउँछ सुखै–सुख' भन्ने नारा नै तय गरेर वृक्षरोपणका लागि अभियान नै सञ्चालन गरिने डिभिजन प्रमुख साहको भनाइ छ।

 कार्यालयले सर्वसाधारणलाई निजी जग्गाको वृक्षरोपणमा प्रेरित र उत्साहित गराउन निःशुल्क बिरुवा उपलब्ध गराउने, रोपण कार्यमा प्राविधिक सल्लाह परामर्श दिने र नियमित अनुगमन गरिने व्यवस्था मिलाएको स्पष्ट पारेको छ। 

प्रकाशित मिति: : 2020-06-05 13:34:28

प्रतिकृया दिनुहोस्