कोरोनाले घेर्दै कर्णाली, जाजरकोट र हुम्लामा पनि भेटिए संक्रमित

कोरोना भाइरसबाट कर्णाली प्रदेशका घेरिदै गएको छ। प्रदेशका ६ वटा जिल्लामा देखिएको संक्रमण थप दुई जिल्लामा पनि पुगेको हो। 

शुक्रबार जाजरकोट र हुम्लाका एक/एक संक्रमणित फेला परेपछि आठ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा हुम्लामा पहिलो पटक चङ्खेली गाउँपालिका ३ का ५८ वर्षीय पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

उनका अनुसार प्रदेश अस्पताल सुर्खेतले गरेको पीसीआर परीक्षणमा जाजरकोटमा पनि पहिलो पटक भेरी नगरपालिका १० का १९ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ। 

कर्णालीका १० जिल्ला मध्ये पश्चिम रुकुम र डोल्पामा हालसम्म संक्रमण देखिएको छैन भने सुर्खेत, दैलेख, सल्यान, कालिकोट, जुम्ला र मुगुमा यसअघि नै संक्रमण देखिसकेको थियो। 

शुक्रबारसम्म कर्णालीमा ४ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ।

प्रकाशित मिति: : 2020-06-05 16:56:52

प्रतिकृया दिनुहोस्