जुम्लाकाे क्वारेन्टाइनमा मृत्यु भएकाे व्यक्तिको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

जुम्लाकाे क्वारेन्टाइनमा मृत्यु भएका एक व्यक्तिको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। 

बिहीबार राती नौ बजे चन्दननाथ नगरपालिका ८ भैरव माध्यामिक विद्यालय तलिउमको क्वारेन्टाइनमा रहेका ६५ वर्षीय वृद्धको मृत्यु भएको थियो।

मृत्यु लगतै शुक्रबार दिउसो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको स्रोतले बताएकाे छ।

मृतक २१ जेठमा नेपालगञ्‍जबाट जुम्ला पुगेका थिए। बाहिरबाट आएकाले उनलाई सोही दिन नजिकैको क्‍वारेन्टाइनमा राखिएको थियो।

उनी लामो समयदेखि दम रोगबाट पीडित रहेको खुलेको छ। उनले नियमित औषधि सेवन गर्दै आएका थिए।

साथै उनले अत्याधिक मदिरा समेत पिउने गरेको देखिएकाे छ।

प्रकाशित मिति: : 2020-06-05 17:29:52

प्रतिकृया दिनुहोस्