प्राथमिकताकाे सूचीमा नरहेका १५७ नेपाली लिएर आयो एयर अरेविया, व्यवस्थापनमा थपियाे समस्या

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसको महामारीका कारण यूएईमा समस्यामा परेका १६८ जना नेपाली नागरिक लिएर आएको विमान काठमाडौंमा अवतरण गरेको छ।

सारजाह विमानस्थलबाट आएको एयर अरेबियाको जी ९ १७५१ नम्बरको जहाज स्थानीय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

जहाजमा इजादा फयासिलिटी म्यानेजमेटमा कार्यरत ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य १२ जना गरी १ सय ५७ जना नेपाल फर्किएका छन्।

जसमध्ये प्रदेश १ का ४७, दुईका २३, वाग्मतीका ३७,गण्डकीका २३, प्रदेश ५ का २३,कर्णालीका ४ र सुदूरपश्चिमका १२ जना छन्।

एक शव पनि ल्याइयाे

सरकारले विदेशमा रहेका अलपत्र नेपालीलाई उद्धार गर्ने निर्णयसँगै त्यहाँ अड्किएर बसेका नेपालीका शवहरु पनि ल्याइन थालिएको छ।

शुक्रबार दुबईबाट एयर अरेवियाले एउटा शव पनि ल्याएको छ। इलामको साखेजुङ नगरपालिकाका २९ वर्षीय राजु पन्चकोटीको शव ल्याइएको हो।

विदेशमा अलपत्र परेका नेपालीको उद्धारमा शवलाई पनि प्राथमिकता दिने सरकारको कार्यादेश थियो। लकडाउनयता विदेशमा खासगरि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव ल्याउन सकिएको थिएन।

शव ल्याउन नसकेपछि परिवारको सहमती लिएर त्यही देशमा दाहसंस्कार गर्न थालिएको थियो। सरकारले त्यसरी सहमती दिने परिवारलाई ५० हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय पनि गरेको थियो।

उडानमा किचलाे

यूएईको सारजाहस्थित विमानस्थलमा बोर्डिङ पास लिएर बसेका नेपाली


नेपाली समय अनुसार शुक्रबार १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण हुने गरी सारजहाबाट जहाज उड्ने बताइए पनि प्राविधिक समस्याका कारण समयमा उडान हुन सकेन। 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले बनाएको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का एक अधिकारीका अनुसार जहाजमा सरकारले प्राथमिकतामा परेको नेपाली यात्रु नपरेपछि उडानलाई अनुमति दिने कि नदिने भन्ने बिहानदेखि नै विवाद परेको थियो। यस्तै भाडा सम्बन्धी विषयमा समस्या भएपछि उडान अनिश्चित बनेको थियो। 

फेरि नेपाल सरकारको एउटा फारममा हस्ताक्षर गर्न लगाइएपछि निर्धारित समयभन्दा ४० मिनेट ढिलो गरी सारजाह विमानस्थलबाट जहाज उडाइएको हो।

यसअघि तय भएको सूचीका व्यक्तिहरुमा उनीहरु नपरेपछि सैनिकलाई कहाँ लगेर राख्ने भन्ने समस्या पनि थपिएको छ। सेनाले प्रदेशगत रुपमा व्यवस्थापन गर्नुअघि राख्नलाई काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ९ वटा होल्डिङ सेन्टर तयार गरेको छ। 

तर यसअघि गर्भवतीसहित अन्य समस्यामा परेका नेपाली ल्याउने तयारीअनुसार होल्डिङ सेन्टर छुट्टाएका पनि उनीहरु प्राथमिक्तामा नपरेकाले व्यवस्थापनमा समस्या परेको स्रोतले बताएको छ। 

‘पहिलेको तयारी अनुसार नमिल्ने भएपछि कहाँ राख्ने भन्ने समस्या उत्पन्न भएको छ,’, स्रोतले भन्यो,‘पहिले विमानस्थलमा सबैको व्यक्तिगत विवरण लिएर मात्र कहाँ लगेर राख्ने भन्ने तय हुन्छ।’

त्यसपछि स्वास्थ्य जाँच लगायतका प्रक्रिया पूरा गरेर आइसोलेसन, क्वारेन्टिन वा होम क्वारेन्टाइनमा राख्ने तय हुने उक्त स्रोतले बतायो।नेपाल आएका उनीहरुलाई होल्डिङ सेन्टरमा आवश्यक स्वास्थ्य जाँच पश्चात क्वारेन्टानमा पठाइन' पर्ने छ। 

सरकारले विदेशमा अलपत्र नेपालीलाई फर्काउने निर्णय गरेपछि उद्धार सुरु भएको हो। सरकारले पहिलो चरणमा १५ वटा प्राथमिकता तय गरेर त्यसमा समेटिनेलाई स्वदेश फर्काउने निर्णय गरेको थियो।

यूएईबाट कम्तिमा १८ हजार जना नेपाली स्वदेश फर्कन चाहेको त्यहाँस्थित नेपाली दूतावासले जानकारी दिएको छ। शुक्रबार आउनलाई तय भएका व्यक्तिसहित अन्यको उडान अब कहिले हुन्छ भन्ने तय भइसकेको छैन।

शुक्रबारै म्यानमारबाट पनि २६ जना नेपालीको उद्दार भएको छ। उनीहरुलाई लिएर म्यानमारको सेनाको विशेष विमान काठमाडौं आएको थियो।

म्यानमारबाट आएकालाई वसुन्धारास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो। 

नेपाल आउनेको सूची

प्रकाशित मिति: : 2020-06-05 19:53:51

प्रतिकृया दिनुहोस्