विश्व वातावरण दिवसमा फलफुलका विरुवा वृक्षारोपण

डिभिजन वन कार्यालय मोरङले ‘सुरक्षित जीवनका लागि जैविक विविधता’ भन्ने मुल नाराका साथ विश्व वातावरण दिवस मनाएको छ। फलफुलका विरुवा वितरण तथा वृक्षारोपण गरि ४८औं विश्व वातावरण दिवस मनाएको हो।

डिभिजन वन कार्यालय मोरङ र विभिन्न संघसंस्थाहरुले जिल्लाका विभिन्न स्थानमा फलफूल लगायत काष्ठजन्य प्रजातिका विरुवाहरु वितरण एवं वृक्षारोपण गरिएको छ। 

नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय वृक्षारोपण वर्षलाई अभियानको रुपमा सफल बनाउने क्रममा ग्रामथान गाउँपालिकाका ६ स्थित पब्लिक माध्यमिक विद्यालयको जग्गामा वृक्षारोपण गरिएको छ। उक्त कार्यक्रममा  उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले २ सय वटा आँप, कटहर, लिची जस्ता फलफूल र मसला, टीकको गरि ९ सय २५ विरुवा रोपेका छन् । 

डिभिजन वन कार्यालय मोरङ अन्तर्गतका विभिन्न सब डिभिजन वन कार्यालयहरु बेलबारी, पथरी, मंगलबारे र कानेपोखरी सव डिभिजन वन कार्यालयहरुले कार्यालय कम्पाउण्डमा, वृक्षारोपण गरिएको छ । सोही क्रममा  विराटनगर ८  जतुवास्थित स्वस्थानेश्वर मन्दिरको सार्वजनिक जग्गा, आमजुगी सामुदायिक वन केराबारीको खाली वनक्षेत्रमा फलफुलका विरुवा रोपण तथा मंगलबारे र लेटाङमा वन उपभोक्ता तथा किसानहरुलाई फलफूलका विरुवा वितरण गरिएको छ ।   

यसैगरी रंगेली नगरपालिका ७ स्थित आर्यघाटमा आँप, लिची लगायतका ४० वटा फलफुलका विरुवाहरु र राजवृक्ष जामुन लगायतका अन्य फूल फुल्ने विरुवाहरु रोपण गरिएको जिल्ला बन कार्यलय मोरङका विशाल घिमिरेले बताए ।

सोही अवसर पारेर बिराटनगर महानगरपालिका वडा नम्बर ४ कन्चनबारी देखि नोबेल अस्पताल सडकको दायाँबायाँ पनि फुल फुल्ने जातको बिरेन्द्रफुल बिरुवाको १ सय ५० वटा वृक्षारोपण गरिने योजना रहेको  घिमिरेले बताए ।  

मोरङ जिल्लामा फलफुलका ६ हजार ३ सय ८५ बटा तथा अन्य काष्ठजन्य ६ हजार २ सय ६० गरी जम्मा १२ हजार ६ सय ४५ वृक्षारोपण भएको छ।  यस वर्ष डिभिजन वन कार्यालय मोरङबाट ४० हेक्टर जग्गामा वृक्षारोपण गर्ने तथा आठ लाख विरुवा विभिन्न नीजि तथा सरकारी स्तरमा रोपण गर्न वितरण गरिने योजना कार्यालयबाट बताइएको छ ।

प्रकाशित मिति: : 2020-06-05 22:41:48

प्रतिकृया दिनुहोस्