जुम्लाका गाउँ-गाउँमा किन बढ्यो कोरोना संक्रमणको त्रास?

१८ जेठमा पहिलोपटक जुम्लामा १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयो। तीमध्ये १७ जना भारतबाट आएका थिए। बाँकी दुई जना भने क्वारेन्टाइन सुरक्षाका लागि खटिएका प्रहरी थिए।

त्यस्तै २३ जेठमा जुम्लामै थप सातजनामा संक्रमण पुष्टि भएको सार्वजनिक गरियो। संक्रमितमध्ये तीन जना चन्दननाथ नगरपालिका-३ का बासिन्दा छन्। कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइनमा राखिएका संक्रमितसँगको सम्पर्कका कारण उनीहरूमा संक्रमण फैलिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर निरेश थापा बताउँछन्।

यी दुई घटनाले जुम्लामा संक्रमणको शुरूमै कोरोना भाइरस समुदायस्तरमा पुगेको देखाउँछन्। अहिलेसम्म समुदायमै संक्रमण नभए पनि बाहिरबाट आएकाहरूको सम्पर्कमा रहेकामा कोरोना पोजिटिभ देखिएपछि गाउँहरू खतराको घेरामा परेका छन्। रेक्टर थापा यसको मुख्य दोष कम गुणस्तरका क्वारेन्टाइनलाई दिन्छन्।

‘हामीले बनाएका क्वारेन्टाइनको गुणस्तर कामजोर भयो। क्यान्टिन, धारा, शौचालयको व्यवस्था विश्व स्वास्थ्य संगठनले भनेजस्तो बनाउन सकिएन। व्यक्तिगत दूरी पनि भनेजस्तो भएन,’ उनी भन्छन्, ‘क्वारेन्टाइनमा बसेका र व्यवस्थापनमा खटिएकाले अनुशासन कायम गर्न नसक्दा पनि यस्तो स्थिति आयो। हामी यहीँनेर चुक्यौं।’

चन्दननाथ-३ मा तीन जनामा संक्रमण देखिएपछि वडा नं. २ र ३ मा सिल गरिएको छ। २३ देखि २५ जेठसम्म सिल गरिएको हो। कर्णाली प्राविधिक शिक्षालय स्थित क्वारेन्टाइनबाट स्थानीय समुदायमा संक्रमण फैलिन सक्ने जोखिम न्यून गर्न सिल गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए।

जिल्ला प्रशासन कार्यालयले सिल गरे पनि गाउँलेमा भने संक्रमण समुदायस्तरमै पुगिसक्यो कि भन्ने त्रास बढेको छ।  शुक्रबार संक्रमण देखिएका तीन मध्ये एक जना केही दिनदेखि गाउँ आउने गरेकोले उनीबाट अन्यमा पनि संक्रमण फैलिएको हुनसक्ने शंका व्यक्त गर्छन् चन्दननाथ-३ का वडाध्यक्ष नन्द बहादुर बुढथापा।

‘हामीले क्वारेन्टाइनमा खटिएका साथीहरुलाई तल नआउनुस् भनेर आग्रह गरेका थियौं। उहाँहरुले नमानेपछि आज गाउँ जोखिममा छ। उहाँहरुले भलिबल खेलेको, खुद्रा पसल गएर चुरोट खाएको देख्यौं,’ उनी भन्छन्, ‘गाउँमा कामको सिजन छ। यो अर्मपर्मको समय हो। धान रोप्ने र कोदो, मकै गोड्ने काम भइरहेको छ। यस्तो अवस्थामा गाउँलेको सम्पर्क बढ्दो छ। संक्रमितको संम्पर्क भएमा वडा नै खतरामा रहने देखिन्छ।’

उनले गाउँ सुरक्षित गर्न प्रतिष्ठानबाट दुई जना स्वास्थ्यकर्मी मगाएर कन्ट्याक्ट ट्रेसिङ गराउने काम भइरहेको बताए।

संक्रमित व्यक्तिले गाउँमा डुलेभेटेको थाहा हुँदा पनि त्रास फैलिएको छ। ‘भारतबाट आएकाहरु हाम्रो वडाका होइनन्। तर उनीहरुको सम्पर्कमा रहेकालाई सर्‍यो। त्यसैले क्वारेन्टाइनको समस्याको कारण भाइरस बाहिर फैलिने देखियो’, चन्दननाथ-३ का स्थानीयबासी विशाल फडेरा शंका व्यक्त गर्छन्।

वडाबासीमा कोरोना संक्रमण गाउँ पस्यो कि भन्ने चिन्ता भए पनि केहीले लापरबाही गरेको दुखेसो पोख्छन् अर्का स्थानीयबासी राजन नेपाली। ‘जोखिम बढेपछि मैले पसल बन्द गरेको छु। समान सकिएको छ भनि ग्राहक फर्काइदिने गरेको छु,’ गाउँमा व्यापार गर्ने उनी भन्छन्, ‘तर गाउँमा कुनै खालको चेतना छैन। भिडभाड रोकिएको छैन। सबैको चाल उस्तै छ। केही गरी संक्रमितबाट कसैमा सरेको रहेछ भने वडामा भुसको आगो लागेजस्तो हुनसक्छ।’

प्रायः वडाबासीमा अहिले गाउँ सुरक्षित भएन भन्ने चिन्ता छ। तीमध्येका एक हुन् चन्दननाथ-२ का स्थानीयबासी अमरसिंह बुढथापा। ‘क्वारेन्टाइन रेखदेख गर्न लागेका हाम्रा छिमेकीहरुलाई कोरोना लागेको पाइयो। क्वारेन्टाइनमा मान्छे कोच्ने काम गरियो भनी कैयौंले गुनासो गरेको हामीले सुन्यौं। त्यस्तो ठाउँमा रेखदेखको लागि खटिएकाहरुलाई संक्रमण भयो। ती संक्रमित पनि गाउँ डुलेका हुनाले हाम्रो गाउँमा कोरोना भाइरस पसिसकेको होला भन्ने हामीलाई लागेको छ। अब स्वास्थ्य जाँच नगरी त के भन्न सकिन्छ र!’, बुढथापाको जस्तै त्रास छ अरूमा पनि।

गाउँमा त्रास फैलिएपछि प्रतिष्ठानले दुई जना स्वास्थ्यकर्मी पठाएको छ। ‘उनीहरुले संक्रमतिसँग कस-कसको सम्पर्क भयो भनी रेकर्ड राख्ने र उनीहरुलाई १४ दिनसम्म आत्म अनुशासित भएर होम क्वारेन्टाइनमा बस्न सुझाउनेछन्’, रेक्टर थापा  भन्छन्।

प्रकाशित मिति: : 2020-06-06 14:03:00

प्रतिकृया दिनुहोस्