मिर्गौलाको उपचार गर्न गएकी महिलाकाे कोरोनाले लियो ज्यान

शुक्रबार राति सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी धनगढी उप–महानगरपालिका ४ की ती महिलामा कोरोना पुष्टि भएको शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

 सेती प्रादेशीक अस्पताल स्रोतका अनुसार ती महिला मृगौला सम्बन्धी रोगबाट पीडित थिइन्। उनलाई डायलासिस गराउनका लागि अस्पताल पुर्‍याइएको थियो। 

अस्पताल स्रोतका अनुसार डायलासिसअघि उनको कोरोना परीक्षणा गरिएको थियो। उनको आरडिटी रिपोर्ट नेगेटिभ आएको थियो।

तर शुक्रबार राती उनको मृत्यु भएपछि पुनः कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएको थियो।

मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएपछि सेती प्रादेशीक अस्पतालको डायलासिस वार्ड सिल गरिएको छ।

योसँगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि बाजुराकी दुई बर्षीय बालिकाको मृत्यु भएको थियो।
 

प्रकाशित मिति: : 2020-06-06 17:27:41

प्रतिकृया दिनुहोस्