उदयपुरका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि भएकामध्ये बेलका नगरपालिकाका २ जना र चौदण्डीगढी नगरपालिकाका एक जना छन्।  

३ दिनअघि स्वाब संकलन गरी काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो।

 कोरोना पोजिटिभ देखिएका तीनै जना स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए।

एक जना भने शिवाई घर भएका २६ वर्षीय पुरुष भएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिए। मेयर राईका अनुसार उनी १५ दिनअघि काठमाडौंबाट उदयपुर फर्किएका थिए।

उनको एक महिनाअघि पनि परीक्षण गरिएको थियो। त्यसबेला नेगेटिभ रिपोर्ट आएको थियो।

उता वेलका नगरपालिकाका २ पुरुष एबीसी टापुको एक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो। अहिले उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको छ।

उदयपुरमा ५ वैशाखमा पहिलो पटक १२ जनामा कोरोना संक्रमण देखिएको थियो।

मुस्लिम धर्म प्रचारक जमातीमा कोरोना संक्रमण देखिएपछि परीक्षण गर्दा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा मात्र ३३ जना संक्रमित देखिएको थियो।

प्रकाशित मिति: : 2020-06-07 13:21:54

प्रतिकृया दिनुहोस्