न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या शून्यः प्रधानमन्त्री अर्डन

एजेन्सी

काठमाडौं

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डन कोरोना भाइरसको संक्रमण शून्यमा झार्न सफल भएको जानकारी गराएकी छन्।

संसद भवन बाहिर सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री अर्डनले न्यूजिल्याण्डमा कोरोनाका बिरामीको संख्या शून्यमा झरेको बताइन्।

आफूले अपनाएको विधि तथा प्रक्रिया न्यूजिल्याण्डका लागि मात्र नभइ विश्वकै लागि खुशीको खवर भएको उनले बताइन् ।

न्यूजिल्याण्डमा कोरोना भाइरसको संक्रमण शून्यमा झरेको भए पनि उनले अहिले नै तत्काल सीमा नाका नखोलिने बताइन्। त्यहाँको सरकारले हालैका दिनमा बाँकी सबै प्रतिबन्धहरू खुला गरिसकेको छ ।

त्यहाँ मे २२ यतादेखि संक्रमित फेला परेका छैनन्।  त्यहाँ २२ जनाको मृत्यु भएको छ । त्यहाँको सरकारले झण्डै पाँच सातासम्म त्यहाँ लकडाउन कडाइको साथमा पालना गर्ने नियम लागू गरेको थियो। 

'हामी सुरक्षित र मजबुद् अवस्थामा भए पनि अगाडिको बाटो कोभिड-१९ भन्दा पहिलाजस्तो सजिलो छैन तर हाम्रो दृढता र स्वास्थ्य क्षेत्रमा हामीले दिएको जोड अब  आर्थिक पुनर्निर्माणका लागि उपयोगी हुनेछ,’ प्रधानमन्त्री अर्डेनले भनिन्। 

कोरोनाभाइरस न्यूनीकरण गर्न ७५ दिनअघि प्रधानमन्त्री आर्डेनले कडा लकडाउन घोषणा गरेकी थिइन्। चार चरणमा खुकुलो बनाउँदै गएको लकडाउनलाई अब अन्तिम चरणमा पुर्‍याउने उनले घोषणा गरेकी हुन्।

लकडाउन खुकुलो बनाए पनि उनले अन्तर्राष्ट्रिय उडान भने स्थगित नै गर्ने बताएकी छिन्।

प्रकाशित मिति: : 2020-06-08 13:15:20

प्रतिकृया दिनुहोस्