चितवनमा एक कोरोना संक्रमितको मृत्यु, शवको व्यवस्थापन सेनाले गर्ने

चितवनको भरतपुर अस्पतालमा कोरोनाको उपचार गराइरहेका एक व्यक्तिको मृत्यु भएको छ। अस्पतालका अनुसार मृत्यु हुनेमा भरतपुर नगरपालिका-११ बस्ने ६८ वर्षका पुरूष छन्।

शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइसियूमा उपचार भइरहेको उनलाई कोरोना पुष्टि भएसँगै सोमबार साँझ ७ बजे भरतपुर अस्पताल ल्याएर कोभिड आइसियूमा राखेर उपचार गरिदैं आइएको थियो।

उनको मंगलबार बिहान ७ बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।

मृतक पुरुषमा पहिलोदेखि नै सुगर र प्रेसरको समस्या थियो । उनी निमोनियाले ग्रस्त थिए भने सोही बेला कोरोनाले पनि आक्रमण गर्दा उनको ज्यान गुम्यो ।

यो सँगै चितवनमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका ती व्यक्ति पहिलो हुन्। भरतपुर महानगरपालिका–११ सामनाटोलका उनको शव व्यवस्थापन नेपाली सेनाले गर्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।

परिवारको परामर्शमा धार्मिक विधिअनुसार शव व्यवस्थापन गरिने उनले जानकारी दिए। सोमबार मात्र यहाँको प्रयोगशालामा स्वाब परीक्षण गरिएका ३१० मध्ये ३० जनामा कोरोना सङ्क्रमण देखिएको थियो। तीमध्ये २४ जनाले चितवनका विभिन्न ठाउँबाट स्वाब सङ्कलन गराएका थिए।

प्रकाशित मिति: : 2020-06-09 11:16:19

प्रतिकृया दिनुहोस्