दश अर्ब कहाँ खर्च भयो? प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ: गगन थापा (भिडियो)

सबैकुरा जान्दछु भन्ने ‘अहंकारी’ र असक्षम प्रधानमन्त्री, यो क्षतिको हिसाब देउ!

गगन थापा

काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमणका विषयमा देश र जनतालाई सुरक्षित राख्न सरकार पूर्ण रूपमा असफल बनेको भन्दै सरकारका गतिविधि र खर्चको हिसाब किताब नदिए सदन चल्न नदिने चेतावनी दिएको छ।

देशभित्र र बाहिर रहेका नेपालीहरु कोरोना कहरबाट प्रताडित हुँदा पनि सरकारले उनीहरुलाई अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै आएको कांग्रेसले संसदमा सरकारसँग जिम्मेवारी र जवाफदेहीताको खोजी गरेको हो।

प्रतिनिधि सभाको मंगलबारको बैठक सुरु हुनासाथ विरोध गर्दै समय लिएर कांग्रेस नेता गगनकुमार थापाले कोरोना संक्रमण नियन्त्रणमा भएको सरकारी गैरजिम्मेवारी क्रियाकलाप र यसबीचमा देशभित्र र बाहिर नागरिकहरुले पाएको दुःखबारे प्रधानमन्त्री स्वयंले सदनमा चित्त बुझ्दो जवाफ नदिए आगामी दिनमा सदन चल्न नदिने धम्की समेत दिएका हुन्।

पाँच मिनेटका समय अनगिन्ती यक्ष प्रश्नहरु उठाउँदै नेता थापाले सबै कुरा जान्छु भन्ने प्रधानमन्त्रीको अहंकार, अक्षमता र गैरजिम्मेवारीपनदेखि संक्रमणको बेलामा पनि भ्रष्टाचारमा लिप्त भएर बसेको सरकारका कारण देश र जनताले दुःख पाएको आरोप लगाए।

प्रस्तुत छ, सांसद गगनकुमार थापाले मंगलबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर व्यक्त गरेको विचारको पूर्ण अंशः

सम्माननीय सभामुख महोदय,

नेपाल भन्दा बाहिर १ सय २७ जना नेपालीको कोभिड–१९ बाट मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालय भन्छ, नेपालभित्र १४ जनाको मृत्यु भएको छ, ३७ सय ६२ जना संक्रमित भएका छन्।

तर, के मृत्यु हुनेको संख्या १४ मात्रै हो? त्यसोभए भोकबाट मारिएका सूर्यबहादुर तामाङ वा झुण्डिएर मरेका चन्द्रबहादुर परिवार, औषधी खान नपाएर मरेकी कङ्कादेवी बोहोरा वा सुत्केरी भएर अस्पताल लान नपाएर मरेकी लालकुमारी रोकायको मृत्युको जिम्मा कसले लिन्छ?

क्वारेन्टिनमा मृत्यु भएको सुनिता लोहारको मृत्युको जिम्मा कसले लिन्छ? वा झुण्डिएर मर्न बाध्य भएका लिलाबल्भव वा आत्मदाह गर्न बाध्य भएका सिद्धार्थ आहुजुको मृत्युको जिम्मा कसले लिन्छ?

यो त प्रतिनिधि घटना मात्रै हो। यस्तो धेरै देख्न बाँकी छ। यो भन्दै गर्दा माघ २१ गतेदेखि सदनमा हामीले उठाएका आवाजहरु म सम्झिन्छु। फागुन २३ गते सदनमा भएको सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल म सम्झिन्छु। कांग्रेसको प्रमुख सचेतकको नेतृत्वमा उच्चस्तरिय समितिलाई गएर बुझाएको कांग्रेसको प्रस्ताव म सम्झिन्छु।

हामी मात्रै होइन, हामी धेरैले सुझाव दियौँ। धेरैले सरकारलाई यो गर, यो गर भनेर भन्यौँ। तर, सरकारले सुनेन। न हाम्रो सुन्यो, न अदालतको सुन्यो, न प्रेसको सुन्यो न नागरिकको सुन्यो। कसैको सुनेन। नसुन्दै गर्दा आज हाम्रो नियन्त्रणमा रहँदा रहँदै पनि आज हाम्रो यो अवस्था भएको छ।

यो त्यसै भएको होइन, यसको दोष कसको? के कानूनले गर्दा रोकेको हो? के ढुकुटीमा पैसा नभएर राकिएको हो? के कांग्रेसले रोकेको हो? के अदालतले रोकेको हो? कल्ले रोकेको हो?

यो रोकेको केबल, सबै कुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकारले रोकेको हो। सरकारको अकर्मण्यताले रोकेको हो। सरकारको असक्षमताको कारणले गर्दा आज हामीले यो अवस्था बेहोर्नु परेको छ।

त्यसैले सम्माननीय सभामुख महोदय, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिँजो बैठक बसेर निश्कर्ष निकालेको छ, यो सरकारले कोरोनाको लडाईबाट अब हामीलाई पार लगाउन सक्दैन। अब हामी सहयोग गर्छौँ, सहयोग गर्छौँ भनेर मात्र बस्दैनौँ। .

अब हामी प्रश्न गर्छौँ, उत्तर चाहन्छौँ र सरकारलाई जवाफदेही बनाएर छाड्छौँ। हामीलाई अब उत्तर चाहिन्छ, सममाननीय सभामुख महोदय।

दश अर्ब रुपैयाँ खर्च कहाँ भयो? हामीलाई यसको उत्तर चाहिन्छ। पाँच वटा पिसिआर मेसिन किन्ने, २५ हजारवटा जम्मा किट किनेर १० अर्ब रुपैयाँको हिसाब किताब देखाउनु पर्दैन? हामीलाई एक एक कुराको हिसाब, किताब चाहिन्छ।

यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त हुने? यो निर्लज्जताको पराकाष्टा हो, हामीलाई हिसाब चाहिन्छ।

त्यतिमात्र होइन, क्वारेन्टिनमा १ लाख ६६ हजार मानिसहरु बस्छन् भनेर प्रधानमन्त्रीले आएर हामीलाई बताउँनु हुन्छ। यो क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सनट्रेशन क्याम्प हो? हामीलाई यसको जवाफ चाहिन्छ।

भारतबाट आएका नागरिकहरुसँग गर्ने व्यवहार यहि हो? सम्माननीय सभामुख महोदय, अदालतले भन्यो, संसदले भन्यो, विज्ञले भने, पिसिआर टेष्टको दायरा बढाउ। आज सुदूरपश्चिममा कैयन दिनदेखि स्वाव कलेक्सन रोकिएको छ। प्रदेश नम्बर २ का कैयन जिल्लाबाट दशौँ हजार मानिसको रिपोर्ट नआएर क्वारेन्टाइनमा छट्पटाएर बसेका छन्।

तर, सरकार के गर्दैछ? टेष्ट गर्नेको दायरा साँघुरो बनाउँदैछ! अब क्वारेन्टाइनमा बस्ने मान्छेको पिसिआर नगर्ने रे! अब मरेको मान्छेको स्वाव परिक्षण नगर्ने रे! अब संक्रमित भएको मान्छेलाई १४ दिन क्वारेन्टाइन/आइसोलेशनमा राखिसके पछाडि घर पठाउने बेलामा पनि टेष्ट नगर्ने रे! बरु सरकारले यसो गरे हुन्छ, अब टेष्ट गर्नै बन्द गरिदिने, अनि नेपाललाई कोरोना फ्रि देश भनिदिने। किन कि परिक्षण नभएपछि संक्रमण एक जनाको पनि देखिँदैन।

सम्माननीय सभामुख महोदय, जवाफ चाहियो। जिम्मा कसले लिने हो? प्रधानमन्त्रीले भन्नु भएको हो यसो गर्नलाई? स्वास्थ्य मन्त्रीले भन्नु भएको हो? भोलि एक जना, दुई जना निर्धो कर्मचारीलाई सरुवा गरेर दोषबाट अपराधबाट भाग्न पाइन्न।

विज्ञहरुले भने, स्वास्थ्य मन्त्रालयले भन्यो, आडिटी परिक्षण काम लाग्दैन। न यो विश्वसनीय छ, न नेपालको संक्रमणको अहिलेको अवस्थामा यसको औचित्य छ। तर, जबरजस्ती आडिटी परिक्षण गर्ने यो अपराधको जिम्मा कसले लिने हामीलाई जवाफ चाहिन्छ।

सम्माननीय सभामुख महोदय, मृत्यु भइसकेको मान्छेको स्वाव परिक्षण नगर्ने कसले भन्यो हामीलाई जवाफ चाहिन्छ।

त्यतिमात्र होइन, सम्माननीय सभामुख महोदय, अस्पतालको तयारी खोई? यत्रो दिनसम्म लकडाउन गरिसके पछाडि अब संक्रमितको संख्या बढ्दै गर्दा उपचार गर्नका निम्ति कुन अस्पतालमा कुन सामाग्री थपियो? कति जनशक्तिको व्यवस्थापन गरियो? यसको जवाफ चाहिन्छ।

विदेशमा बसेका नेपालीहरुलाई ल्याउने भनेर त्यत्रो निर्णय गरियो। अहिले कुन एयरलाइन्सले बोक्ने भन्ने झगडा गरेर आउनलाई आतुर भएर बसेका नेपालीहरुमाथि यत्रो ठूलो बज्रपात फेरि गर्ने? जवाफ चाहिन्छ।

गर्ववती महिलादेखि खोप पाउने बालिकासम्म, दीर्घरोगीका विरामीहरुले उपचार, औषधी किन पाएनन्? जवाफ चाहिन्छ। कृषक, मजदूरदेखि साना उद्योगी, ठूला उद्योगी, व्यवसायीसम्मले प्रधानमन्त्रीको गीत र कविताबाट राहत पाउँदैनन्। तिनका लागि कार्यक्रम के छ? जवाफ चाहिन्छ।

त्यसैले सम्माननीय सभामुख महोदय, म आफ्ना कुराहरु टुंग्याउने क्रममा आग्रह गर्न चाहन्छु, यो प्रश्न केबल प्रश्नका लागि होइन। उच्चस्तरिय समिति भनेर जुन बनाइएको छ हामी उसलाई चिन्दैनौँ। हामीलाई यहाँ आएर चिनाउँनु पर्यो।

त्यो समितिको प्रमुख/उपप्रधानमन्त्रीजीले आएर एक एक हामीले उठाएको प्रश्नको जवाफ दिनु पर्यो। जवाफमा चित्त बुझेन भने, सम्माननीय प्रधानमन्त्रीजी आउनु पर्यो।

एउटा एउटा हाम्रो प्रश्नको उत्तर यहाँ आएर दिनु पर्छ। हामीले आज जवाफका लागि अनुरोध मात्र गरेका छौँ। तर, हाम्रो कुराको सुनुवाई भएन। दुई दिन अगाडि हामीले विद्युतीय गाडी आयातमा लगाइएको करका सम्बन्धमा पनि विषय उठायौँ। यी विषयहरुका बारेमा सदनमा आएर उहाँहरुले जवाफ दिनु भएन भने र जवाफमा चित्त बुझेन भने सम्माननीय सभामुख महोदय, आज हामीले रेकर्ड गराएका छौँ, जवाफ मागेका छौँ।

तर अब जवाफ मागेर मात्र बस्दैनौँ। थपक्क बोलेर थपक्क बस्ने दिन गए। अब सरकारले यहाँ आएर हामीले मागेको हिसाब किताब दिएपछि मात्रै सबै प्रक्रियाहरु सूचारु रुपले अगाडि बढ्ने ठाउँसम्म हामी पुग्छौँ।

म अहिले आग्रह गराउन चाहन्छु, सरकारले सोचोस्, तयारी गरोस्। अब सदनमा कांग्रेसले एउटा एउटा कुराको हिसाब नदिइकन सरकारलाई सुतेर बस्न दिँदैन भन्ने कुरा जानोस्। धन्यवाद। जय नेपाल।

प्रकाशित मिति: : 2020-06-09 12:58:05

प्रतिकृया दिनुहोस्