आलेख : रामायण पार्क निर्माणमा ढिलाइसँगै स्थानीयवासीमा चिन्ता

रासस

गलेश्वर

पाँचवर्षअघि म्याग्दी जिल्लाको बेनी नगरपालिकाले एउटा महत्वपूर्ण एवं स्थानीय सरकारका लागि महत्वकाङ्क्षी हुनसक्ने एक योजनाका बारेमा व्यापक छलफल थाल्यो।

त्यो आयोजना बेनी नगरपालिकामा रामायण पार्क निर्माण गर्ने विषयमा थियो। यस नगरपालिकाले उक्त आयोजना अघि सारेपछि यसले जिल्लाभर निकै नै चर्चा पायो किनभने मर्यादापुरुषोत्तम श्रीरामसँग जोडिएको र वैदिक सनातन धर्मका अनुयायीहरुको अधिक रुचि र चासोको रामायणबारे अध्ययन गर्न पाउने पार्क बन्नु सबैका लागि खुशीको कुरा थियो। त्यसैले उक्त पार्क नेपालको मात्र नभएर भारत, श्रीलङ्का र सबै हिन्दू धर्मावलम्बीको आकर्षणको केन्द्र बन्नसक्ने भन्दै सबै स्थानीयवासीले सो आयोजनाको स्वागत पनि गरे। 

तर स्थानीय निकायको निर्वाचन भएको तीन वर्ष बितिसक्दा पनि बेनीमा रामायण पार्क बन्ने विषय भने झन सेलाउन पुग्यो। आजकल पार्क बनाउने विषयमा छलफलसमेत हुन सकेको छैन। यसरी यो विषयमा अहिले सरोकारवालाबीच चर्चासमेत हुन छोडेपछि स्थानीयवासीमा भने चिन्ता थपिएको छ। यो आयोजना निर्माण भएमा यस क्षेत्रलाई नै धार्मिक पर्यटनस्थलका रुपमा विकास गर्न सकिने पर्खाइमा रहेका स्थानीयवासी उक्त आयोजना नै नारामा मात्र सीमित रहने त होइन भनेर चिन्तित देखिएका हुन्। 

म्याग्दीमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि रामायण पार्क बनाउने कुरा स्थानीय सरकार आउनुभन्दा पहिलेदेखिकै चर्चामा थियो। बेनी नगरपालिकाले रामायण पार्क बनाउन गुरुयोजना पनि बनायो। तर पनि आजका दिनसम्म त्यो योजना भने नारामा मात्र सीमित हुन पुगेको छ।

स्थानीय तहको चुनाव भएको तीन वर्ष पुग्दा पनि अझै रामायण पार्कको काम शुरु हुन सकेको छैन। बेनी नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि नगरसभाबाट स्वीकृत गरिएको बजेटमा रामायण पार्क बनाउन प्रारम्भिक तयारीका लागि भन्दै रु १० लाख बजेट विनियोजन पनि गरिएको थियो।

बहुचर्चित योजनाका रुपमा समेत चिनिएको पार्क बनाउन वडा नं ६, ७ र ८ भित्र पर्ने बराहपाखो र आँपरुख सामुदायिक वनअन्तर्गत हुलाकचोकबाट अर्थुङे जाने पुरानो खानेपानीको धारा रहेको स्थान प्रस्ताव गरिएको थियो। प्रस्ताव गरिएको स्थानको स्थलगत अनुगमन तथा आवश्यक पूर्वाधार विस्तारका लागि प्रक्रिया अगाडि बढाएको नगरपालिकाले तीन वर्ष बृहत् आयोजना प्रतिवेदन (डिपिआर) मा नै सीमित गरेको छ।

यसका लागि पाँचवर्ष अगाडि एक समिति पनि गठन गरिएको थियो। त्यो समितिले रावणको जन्मभूमि समेत भनेर चिनिने म्याग्दीकै पौलष्य पुलहआश्रम आसपासका क्षेत्रमा रावण पार्क पनि बनाउने अर्काे योजनासमेत अगाडि सारेको थियो।

आन्तरिक तथा भारत र श्रीलङ्काका हिन्दू धर्मावलम्बीहरुलाई आकर्षित गर्न पार्कको अवधारणा ल्याइए पनि अलपत्र परेको योजनालाई बेनी नगपालिकाले अगाडि बढाउने निर्णय गरेको थियो। तर नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा रामायण पार्ककोे डिपिआरका लागि रु चार लाख ९५ हजार खर्च गरेको छ।

बेनी नगरपालिकाका सूचना अधिकारी युवराज थापाका अनुसार रामायण पार्क बनाउनका लागि रु दुई करोड ५० लाख ९१ हजारको लागत अनुमान गरिएको डिपिआर तयार पारिएको छ। पार्कका लागि रु एक करोड ६२ लाख ६ हजारको लागत अनुमानको डिपिआर गरिएको छ। 'हामीले योजना अघि बढाउनका लागि डिपिआर तयार पारेका छाँैं’, उनले भने, 'दुईवटा पार्क नगरपालिकाले नै निर्माण गर्ने गरी डिपिआर तयार गरिएको हो, तर नगरपालिकाको बजेटले मात्र निर्माण गर्न नसकिने भएपछि, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर निर्माण कार्य गर्ने हो । त्यसका लागि शहरी विकास मन्त्रालयसँग समन्वय भएको छ।'

थापाका अनुसार डिपिआरका लागि विनियोजन गरेको रु १० लाखमा बाँकी रकम रकमान्तर गरेर अरु योजनामा लगिएको छ। नगरपालिकाका इन्जिनीयर विमलरञ्जन कार्कीका अनुसार उक्त रामायण पार्क बनाउने योजना शहरी विकास मन्त्रालयसँग समन्वय गरेर काम अघि बढेको छ। 

उनका अनुसार नगरपालिकाले पार्कका लागि डिपिआर तयार गरेको थियो। अहिले फेरि शहरी विकास मन्त्रालयले पार्कका लागि पुनः डिपिआर गर्न लागेको छ। नगरपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार र पूर्वाधार विस्तारमा समेत प्राथमिकता दिइएको बताउँदै नगर प्रमुख हरिकुमार श्रेष्ठले हरेक वर्ष बजेट विनियोजन गरे पनि काम अघि बढ्न नसकेको बताए।

'हामीले रामायण  पार्कका लागि हरेक वर्ष बजेट विनियोजन गरेका छौँ, तर त्योअनुसारको काम हुन सकेको छैन, आगामी आवमा पनि त्यसका लागि बजेट विनियोजन हुन्छ' उनले भने, 'योजना प्रदेश र सङ्घीय सरकारमा पठाएका कारण त्यहाँबाट आउने समपूरक बजेटबाट पनि काम योजना अघि बढ्नेछ।'

यस्ता पर्यकटीयस्थलमा पूर्वाधार निर्माण गर्नका लागि योजना बनाए पनि बजेट अभावका कारण निर्माण हुन सकेका छैनन्। बेनी नगरपालिका–५ पुलाचौरको पुलाश्रम त्यस समयका लङ्का (हालको श्रीलङ्का) को राजा रावणको जन्मस्थान मानिन्छ। पौलस्त्य आश्रम क्षेत्र र त्यसको वरिपरिको वर्णन श्रीमद्भागवत, मत्स्य पुराणलगायतका ग्रन्थमा समेत उल्लेख गरेको पाइन्छ।

पौलत्स्य ऋषिको तपोभूमिसमेत रहेको पुलाआश्रमको प्रवेशद्वारका रुपमा पार्कलाई विकास गर्ने योजना छ। विश्वका हिन्दू धर्मालम्बीहरुका पाँच ठूला धार्मिकस्थलमध्ये पुलाआश्रमसमेत पर्ने भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा पर्ने गरेको पाइन्छ। पुलाआश्रम क्षेत्र विकास कोषले महायज्ञमार्फत मन्दिरको निर्माण गरेको भए पनि थप पूर्वाधारको अभाव देखिएको अवस्थामा रावण पार्कले हिन्दू धर्मालम्बीहरुलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

पार्कको विस्तृत कार्ययोजना (डिपिआर) बनाएलगत्तै निर्माणकार्य शुरु हुने नगरपालिकाले जनाएको थियो। तर डिपिआर बनेपछि भने नगरपालिका सेलाएको स्थानीयवासीको भनाइ रहेको छ। बेनी नगरपालिकामा पर्ने पौलस्त्य आश्रममा रामायणमा उल्लेख गरिएका लङ्काका राजा रावणको जन्म भएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। रावण पौलस्त्य क्रृषिका नाति थिए।

नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीका अनुसार आँपरुख, गुफाको डिल र पौलस्त्य आश्रमलाई समेटेर रामायण पार्क योजनाका लागि डिपिआर निर्माण भएको छ। नगरपालिकाको वडा नं ६, ७ र ८ को सिमानामा पर्र्ने आँपरुख सामुदायिक वनमा पार्कसहितको मूर्ति, बेनपा–६ गुफाको डिलमा राम र सीताको मूर्ति र पौलस्त्य पुलह आश्रममा मुख्य रामायण पार्क बनाइने योजना रहेको छ।

आँपरुखलाई प्रवेशद्वार बनाइए पनि गन्तव्य पुलाआश्रम नै हुने बराइलीले बताए । रामायण पार्कसँगै बेनीदेखि पदमार्ग, मूर्ति निर्माण र वातावरण तथा विपद् व्यवस्थापनतर्फ विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बाट अनुमानित लागतसमेत पहिचान हुने नगरपालिकाले जनाएको छ। रामायणपार्क बनाउन कूल रु ५० करोड लागतको अनुमान गरिएको छ। 

रामायण पार्कले आन्तरिक पर्यटकसँगै दक्षिण भारत, श्रीलङ्का, भुटानलगायत हिन्दू र बौद्ध धर्मावलम्बीहरुको बसोबास रहेका देशबाट समेत धार्मिक पर्यटकलाई आकर्षित गर्न सकिने नगरप्रमुख श्रेष्ठले बताए। 

लङ्काका राजा रावण जन्मिएको क्षेत्र भनेर श्रीमद्भागवत महापुराणमा समेत उल्लेख गरिएको पौलस्त्य पुलहाश्रम क्षेत्र प्रचारको अभावमा ओझेलमा परेको छ। पुलहाश्र म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित पुलाडाँडा नजिकै पर्छ। यही ठाउँमा रामायणमा वर्णन गरिएका वीर, पराक्रमी र तत्कालीन अवस्थाका वैज्ञानिकसमेत मानिएका रावणको जन्म भएको थियो भनेर श्रीमद्भागवत महापुराणलगायतका विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको छ।

रामायणमा ‘खल’ पात्रका रुपमा परिचित रावणको जन्मभूमि मानिएको एवं हिन्दूहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ वटा पवित्र तीर्थस्थलमध्येको एउटा तीर्थस्थल म्याग्दीको पौलस्त्य आश्रम पनि प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावमा रहेको भन्दै स्थानीयवासीले असन्तुष्टि जनाउँदै आएका छन्।

म्याग्दीको बेनी नगरपालिका–५ मा रहेको पुलस्त्य पुलहाश्रमलाई विश्वकै पवित्र तीर्थस्थलका रुपमा श्रीमद्भागवत महापुराणमा उल्लेख गरिए पनि सो तीर्थस्थल प्रचारप्रसार, भौतिक पूर्वाधार र संरक्षणको अभावमा ओझेलमा परेको हो। 

श्रीमद्भागवत महापुराणको सप्तम् स्कन्दको अध्याय चौधको दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ वटा तीर्थस्थलमध्ये एक मानिन्छ। श्रीमद्भागवत महापुराणमा कुरुक्षेत्र, गया, प्रयाग, पुलस्त्य पुलहाश्रम, नैमिषारण्य, फाल्गुतीर्थ, रामेश्वरम, प्रभास, कुशस्थली, वाराणसी, मधुपुरी, पम्पासरोवर, नारायणाश्रम, विन्दु सरोवर र सीताराम आश्रमलाई विश्वकै १५ अति पवित्र तीर्थस्थलका रुपमा उल्लेख गरिएको छ।

पुराणप्रसिद्ध तीन ऋषि पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तन मनन गर्दै बसेको पुराणमा उल्लेख छ। पुराणका अनुसार विश्रवा ऋषिको छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा नै भएको मन्दिरका पुजारी पं लीलाधर पौडेलले बताए।

सत्ययुगमा पुलह र पौलस्त क्रृषिले यहाँ तपस्या गरेर हवन (यज्ञ) गर्न लागेको समयमा पानी पर्न थालेको र क्रृषिद्वयले देवताहरुका राजा इन्द्रसँग प्रार्थना गरेर यज्ञ सम्पन्न भएपछि मात्र पानी पार्न भनेपछि धेरै समयपछि मात्र पानी परेको कुरा शास्त्रमा वर्णन गरिएको अर्का पुजारी तारा पौडेलको भनाइ रहेको छ।

रावण जन्मेर हुर्के बढेको ठाउँ पनि पुलस्त्य आश्रम नै भएको पुराणमा उल्लेख गरिएको छ। पछि रावणले मुस्ताङ थाकखोलाकी थकालीकी छोरी ‘मन्दोदरी’ लाई विवाह गरी कालान्तरमा लङ्काको राजा भएको पौराणिक ग्रन्थहरुमा उल्लेख गरिएको पनि पाइन्छ।

पौराणिक कथन र श्रुतिस्मृति परम्परा (किंवदन्ती) अनुसार रावणको जन्म भएको भनिएको ठाउँ पौलस्त्य क्षेत्रलाई समेटेर बेनी नगरपालिकाले रामायण पार्क निर्माण गर्ने अवधारणा ल्याएको हो। रावणसँग जोडिएको इतिहास भएको स्थान भएको र यसको प्रचार प्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने उद्देश्यले यहाँ रामायण पार्क निर्माण गर्ने योजना अघि सारिएको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए। 

रावणको मूर्तिसहितको संरचना बनाएमा श्रीलङ्का र दक्षिण भारतबाट हजारौँ भक्तजनलाई भित्र्याउन सकिने अनुमान गरिएको छ। पार्कसहितको संरचना बनाएलगत्तै निजी क्षेत्रबाट केवलकार विस्तारको सम्भावनासमेत रहेको पर्यटन व्यवसायीको भनाइ छ। यसरी यस क्षेत्रलाई एक आकर्षक धार्मिक गन्तव्यका रुपमा समेत विकास गर्न सकिन्छ।  

यस आश्रममा भगवान् श्रीरामसँग सम्बन्धित विविध संरचनाहरु निर्माण हुनेछन्। श्रीरामको जीवनी, रावणसँगको युद्ध, श्रीरामपत्नी सीताका बारेमा पनि यस पार्कमा आवश्यक सूचनामूलक संरचना र सामग्री राख्ने योजना रहेको छ। तर स्थानीय नागरिकद्वारा सर्वाधिक रुचाइएको यो आयोजनामा भएको ढिलाइले भने पार्क नबन्ने हो कि भन्ने चिन्ता स्थानीयवासीमा बढ्दै गएको छ।

प्रकाशित मिति: : 2020-06-10 14:48:38

प्रतिकृया दिनुहोस्