असार १ गतेदेखि सरकारी कार्यालय खुल्ने

सरकारले आगामी असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको छ। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन सुरु गर्नुका साथै अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

बुधबारको मन्त्रिपरिषद् बैठकले पसलहरु खोल्न दिने तथा कोरोना भाइरसको संक्रमण कम देखिएका क्षेत्रमा जोर-बिजोर प्रणालीका आधारमा सवारी सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ।

त्यस्तै सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) नगर्ने  निर्णय गरेको छ।  विद्यालयले लिएको आन्तरिक परीक्षाका आधारमा ग्रेडसिट दिने गरी कानुनी व्यवस्था गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । 

एसइईमा एक हजार नौ सय ९५ केन्द्र र कुल चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी छन् ।

६ चैतबाट हुने भनिएको एसइईका प्रश्नपत्र परीक्षा केन्द्रनजिकको चौकीमा पुगिसकेका थिए । कोरोना भाइरसको जोखिम बढेपछि एसइईको परीक्षा एक दिनअघि स्थगित भएको थियो ।

यद्यपी अबेर राति सकिएको मन्त्रिपरिषद्‍ बैठकका औपचारिक निर्णय सरकारका प्रवक्ताले भोलि बिहीबारमात्रै सार्वजनिक गर्ने भएका छन्।

प्रकाशित मिति: : 2020-06-10 23:03:56

प्रतिकृया दिनुहोस्