यस वर्ष एसईई परीक्षा नगर्ने सरकारको निर्णय, आन्तरिक मूल्यांकनलाई आधार मानिने

यस वर्ष माध्यामिक शिक्षा परीक्षा (एसईई) को नियमित परीक्षा नहुने भएको छ। सरकारले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित एसईई यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय गरेको हो।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले एसईई परीक्षा नगर्ने र विद्यालयको आन्तरिक मूल्यांकनकाे आधारलाई नै मान्यता दिने निर्णय गरेको एक मन्त्रीले बताए।

कोभिड १९ संक्रमण, नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको सिफारिसअनुसार एसईई परीक्षा स्थगीत गरेको हो।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीले गिरिराजमणि पोखरेलले तत्काल एसईई परीक्षा लिन सम्भव नभएको भन्दै विद्यार्थीहरुको अध्ययन निरन्तरताका लागि भन्दै बाधा अड्काउ फुकाउ अध्यादेश जारी गर्न बुधबारको मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको थियो।

शिक्षा ऐन २०२८ को दफा ४ (ट) वमोजिम परीक्षा सञ्जालन हुने अवस्था नरहेको भन्दै सोही ऐनको दफा २० ले दिएको अधिकार प्रयोग गरी सरकारले परीक्षा नगर्ने निर्णय गरेको हो।

एसईई परीक्षाको हकमा विद्यालयद्वारा गरिएको आन्तिरक मूल्यांकनलाई आधार मान्ने र विद्यालयद्वारा गरिने आन्तरिक मूल्यांकनको सम्बन्धी कार्यको स्थानीय तहले सत्यापन तथा प्रमाणीकरण गरी राष्ट्रिय परीक्षा बोर्ड समक्ष सिफारिस गर्ने र सो कार्यको अनुगमन प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।

त्यरी प्राप्त विवरणका आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा फल तयार गर्ने, प्रकाशन गर्ने, प्रमाणिकरण गर्ने र प्रमाणपत्र जारी गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।

प्रकाशित मिति: : 2020-06-10 22:23:22

प्रतिकृया दिनुहोस्