भोलिदेखिनै पसल खोल्न दिने, जोर-बिजोरका आधारमा निजी सवारी चलाउन पाउने

सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ।

बुधबार अबेर राति सम्पन्न मन्त्रिपरिषद् बैठकले भोलिदेखिनै लागू हुने गरि संक्रमित कम भएका जिल्लाका हकमा सबै पसल र निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको हो।

बैठकले लकडाउनको केही मोडालिटीसमेत बनाएको छ। सुरक्षाको मापदण्ड अपनाएर पसल व्यवसाय खोल्न छुट दिइएको छ । ७८ दिनको लकडाउन पछि पसल व्यवसाय बिहिबारबाट खुल्ने भएका हुन् ।

जसमा बिहीबारदेखि लागू हुनेगरी मोटरसाइकलमा एक जना मात्र चढ्ने, निजी सवारी र ट्याक्सीमा चालकबाहेक दुई जना सवार हुनेगरी चलाउन सबैलाई खुला गर्ने निर्णय गरेको हो। यद्यपी ती सवारी साधन जोर-बिजोर प्रणालीमा संचालन हुनेछन्। लामो रुटकालाई भने अहिले अनुमति नदिने निर्णय भएको छ।

जोर अंकको गते सवारी साधनको अन्तिम अंक जोर भएका सवारी साधन र बिजोर अंकको गते सवारी साधनको अन्तिम अंक बिजोर भएका सवारी साधन मात्रै चल्न पाउनेछन् ।

पसल, व्यवसाय, उद्दोग र कलकारखाना पनि खोल्न पाउने भएका छन्,  रेष्टुरेन्टहरूमा टेक अवे सर्भिस (खाना लैजाने मात्र) खुला गर्ने भएको छ।

त्यसैगरी सरकारी कार्यालय असार १ गतेदेखि पूर्णरुपमा सञ्चालन गरिने भएको छ। तर, शहर प्रवेश गर्ने नाकामा थप कडाई गर्ने निर्णय समेत गरिएको छ।

काठमाडौं उपत्यकाको हकमा सिटको आधा संख्या मात्र राखेर सवारी सञ्चालन गर्न दिइनेछ । प्रदेशहरुको हकमा प्रदेश सरकारलाई निर्णयको अधिकार दिइएको छ।

यो सँगै सडकलगायत पूर्वाधार निर्माण शुरु हुनेछ ।

लामो दुरीको सवारी भने सञ्चालनको अनुमति दिइएको छैन। निजी सवारी पनि लामो दूरीमा सञ्चालनको अनुमति दिइएको छैन।

२०७६ सालको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) परीक्षा नहुने भएको छ । विद्यालयले लिएको आन्तरिक परीक्षाका आधारमा ग्रेडसिट दिने गरी कानुनी व्यवस्था गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

एसइईको विषयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बुधबार मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए । शिक्षामन्त्री पोखरेलले एसइईका विषयमा आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने निर्णय भएको बताए । कक्षा १२ को परीक्षा भने उपयुक्त समयमा लिने तयारी छ ।

यसअघि आजै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा जनजीवन सहज पार्नका लागि केही निर्णय लिने बताएका थिए।

सरकारले शैक्षिक संस्था, मनोरञ्जन स्थल, जीम हल, पौडी पोखरी, खेलस्थल भने बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले लकडाउनको खुकुलो पार्ने मोडालिटी तय गरेको हो । जनजीवन सहज पार्नका लागि मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र लकडाउन खुकुलो पार्ने मोडालिटी बिहीबार मात्रै सार्वजनिक गर्ने भएको छ ।

प्रकाशित मिति: : 2020-06-10 22:29:00

प्रतिकृया दिनुहोस्